आँबुखैरेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आँबुखैरेनी गाउँपालिका कमिटीले आयोजना गरेको दशैंतिहारको शुभकामना आदानप्रदान कार्यक्रम शोकसभामा परिणत गरि सम्पन्न भएको छ । शनिबार आयोजना गरिएको कार्यक्रम यस अघि दशैंतिहारको शुभकामना आदानप्रदान कार्यक्रमको रुपमा तयारी गरेको भएपनि शुक्रबार राति जाजरकोटमा गएको विनासकारी भूकम्पका कारण देश शोकमग्न भएकोले उक्त कार्यक्रम शोकसभामा परिणत भएको थियो ।

पार्टीका केन्द्रीय उपाध्यक्षद्वय रवीन्द्र मिश्र, हेमजंग गुरुङ्ग र महामन्त्री मा. डा. धवल शमशेर राणा लगायत वरिष्ठ नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शुक्रवार राति जाजरकोट र पश्चिम रुकुममा गएको विनासकारी भूकम्पमा परी दिवगंत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सभा गरिएको हो ।
उक्त कार्यक्रममा जाजरकोट र पश्चिम रुकुमका विनासकारी भूकम्प पीडितहरुको लागि आर्थिक सहयोग रकम ४६ हजार १ सय ३५ रुपैयाँ संकलन गरिएको छ । प्राप्त सहयोग रकम पार्टीका केन्द्रीय उपाध्यक्षद्वय रवीन्द्र मिश्र, हेमजंग गुरुङ्ग र महामन्त्री मा. डा. धवल शमशेर राणालाई हस्तान्तरण गरिएको र सो रकम पार्टीले सुरु गरेको राहत तथा उद्वार कार्यमा प्रयोग हुने पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले बताउनुभएको छ ।

कार्यक्रममा आँबुखैरेनीका पूराना राप्रपाका स्वर्गीय कार्यकर्ताहरु क्षेत्र बहादुर कंडेल र पूर्व भूमी सुधार सहायकमन्त्री नारायण मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो ।