कुरिनटार । मनकामना केबलकार आज शुक्राबार २६ औा बर्षमा प्रवेश गरेको छ । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मि स्थलमा जाने भक्तजनहरुको सुविधाका लागि २५ वर्षअघि केबलकार सुरु गरिएको थियो।
कम्पनीले आफूलाई ‘डिजिटलाइज्ड’गर्ने तयारी सुरु गरिसकेको छ। कम्पनीले केबलकारसँगै अब त्यहाँ आउने भक्तजनलाई लक्षित गरेर अन्य सुविधा पनि थप्ने तयारी गरिरहेको छ।कम्पनीले आउँदो एक वर्षमा आफ्नो व्यावसायीक योजना अनुसार एक अर्ब रुपैयाँ लागतमा केबुलकार सेवा पूर्ण डिजिटल प्रविधिमा रुपान्तरण गरे संचालन गर्न लागेको हो। यस्तै, केबुलकार परिसरमै हाइ इण्ड रिसोर्ट संचालनमा ल्याइँदैछ।
२५ वर्ष यता एनालग प्रविधिमार्फत सेवा दिँदै आएको केबुलकारमा प्रयोग हुने स्पेयर पार्टस् पाउन कठिनाई भएसँगै कम्पनीले डिजिटल प्रविधिमा स्तरोन्नति अगाडि बढाएको संचालक राजेश बाबु श्रेष्ठले बताउनुभयो । हाल अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि-कनेक्ट प्रणाली जडानको पहिलो चरणको काम सकिसकेको उहाँले जानकारी दिनुभयो । साथै, बाँकी दुई चरणको जडान कार्य आउँदो वर्ष २०८१ असोज सम्म पूरा गर्ने योजना रहेको उहाँले बताउनुभयो । यी सबै कामहरु सकेपछि केबुलकार ‘फूलफ्लेज’ नयाँ प्रणाली अन्तर्गत संचालनमा आउने उहाँले बताउनुभयो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व ‘सिएसआर’ अन्तर्गतको सहयोग पनि गर्दै आएको छ। संस्थापक स्व.लक्ष्मण बाबु श्रेष्ठको पूण्य तिथिमा मन्दिर र त्यस वरिपरिका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा क्षेत्र र विपन्न वर्गलाई पनि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।।
सिएसआर अन्तर्गत केवुलकार टिकट बिक्रीबाट हुने आम्दानीको कूल रकमको १.१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।
मनकामना दर्शन प्रा. लि। वि.सं. २०५३ कार्तिक २२ गते स्थापना भएको थियो। वि.सं. २०५५ मंसिर ८ गतेबाट यसले व्यवसायिक सेवा सुरु गरेको थियो। मनकामना केबुलकार २६ औं वर्षमा प्रवेश गर्दा गौरवान्वित भएको भन्दै आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताएका छन्।