Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको हाट बजार चल्न छाड्यो, नियमित संचालन नहुदाँ किसानले उत्पादन समेत ल्याउन छाडे

शहिद लखन गाउँपालिकाको हाट बजार चल्न छाड्यो, नियमित संचालन नहुदाँ किसानले उत्पादन समेत ल्याउन छाडे

शहिद लखन गाउँपालिकाको हाट बजार चल्न छाड्यो, नियमित संचालन नहुदाँ किसानले उत्पादन समेत ल्याउन छाडे

रामशाह बजार । शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाह बजारमा संचालन हुदै आएको हाट बजारमा पहिले जस्तो चहलपहल देखिदैन । ग्राहकसँगै उत्पादित कृषि उपज बिक्री वितरणका लागी आउने किसानको संख्या समेत घट्दो छ । कोभिड यता हाट बजारले निरन्तरता समेत पाउन सकेको छैन ।

images

पालिकाको आर्थिक र प्राविधिक सहयोगमा मनकामना कृषि सहकारीमार्फत २०७५ असोज २७ गतेबाट हाट बजार शुरु भएको हो । त्यस पश्चात पालिका स्तरीय बनाउने भन्दै नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्था खोलेर त्यसमार्फत हाट बजार संचालन गरियो । पालिकामा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले प्रत्येक शनिवार संचालन गरिदैँ आएको हाट बजार कोभिड यता बन्द जस्तै छ ।

‘कोभिडका कारण करिव डेढ बर्ष हाट बजार बन्द भयो,’ संचालक समिति अध्यक्ष चित्रबहादुर बयलकोटीले भने, ‘त्यसयता नियमित बजार संचालन गर्न पनि सकेका छैनौ ।’ हाट बजारमा पहिलेजस्तो मानिसको चहलपहल हुन छाडेको उनले बताए । उनका अनुसार उत्पादित कृषि उपज बिक्री वितरण गर्न किसानहरु समेत आउन छाडेका छन् । ‘हाट बजारमा तरकारी बेच्न मुख्य गरेर १ देखि ३ नम्वर वडाका किसानहरु आउने हो, तर अहिले १ र ३ का किसानहरु आउनै छाड्नुभयो । पहिले कम्तिमा २०–३० जना कृषकहरु उत्पादन लिएर आउनुहुन्थ्यो, ग्राहकले पनि चाहेको सामान पाउथे, तर अहिले जम्मा ५–६ जना आउनुहुन्छ, खोजेको सामान नपाउने भएपछि ग्राहकहरु पनि खासै आउनुहुन्न,’ उनले भने । तनहूँको आँवुखैरनीमा हाट बजार संचालन हुन थालेपछि आफूहरुको व्यापार घटेको उनले बताए । ‘हाम्रो मुख्य ग्राहक भनेको तनहूँको आँवुखैरेनी र गोरखाका हुन् तर आँवुखैरेनीमै हाट बजार शुरु भएपछि हाम्रोमा मान्छै आउनै छाडे,’ उनले भने ।

ग्राहकको संख्या कम भएसँगै कारोवारमा पनि ह्रास आएको उनले जानकारी दिए । कोभिडअघि दिनको करिव चार लाखसम्मको कारोवार भएको स्मरण गर्दै उनले अहिले बढी व्यापार भएको दिन मुश्किलले ३५ हजारको कारोवार हुने गरेको बताए ।’ सो क्षेत्रमा केही सटर निर्माण गरेर बिउबिजन, तरकारी, माछामासु र दुधजन्य पदार्थको पसल दैनिक संचालन गर्न सके शनिवारको हाट बजार पनि राम्रो सँग चल्ने उनको भनाइ छ ।

उत्पादित कृषि उपजको जिम्मा हाट बजार संचालक समितिले लिइदिनुपर्ने किसानहरु बताउँछन् । नियमित रुपमा हाट बजार संचालन नगर्दा आफूले उत्पादीत गरेको तरकारी खेर गएको वडा नम्वर ३ कुसुमपानीका कृषक तिलबहादुर गुरुङले गुनासो गरे । ‘दशै ताका काउली निस्केपछि हामी अध्यक्षको घरमै पुगेर तरकारी निस्किन थाल्यो, हाम्रो गाउँमा करिव ७० क्विन्टल काउली उत्पादन भएको छ, अव हाट बजार खोलौ भनेको उहाँको पारिवारिक समस्याले गर्दा समय दिन सक्नुभएन, समितिका अरु मान्छेहरुलाई भनेको सुन्ने कान लगाएनन्, ठाउँठाउँमा बोक्दै लगेर बेच्नुप¥यो भनेजति भाउ पनि पाएनौ, गोलभेडा त झन् बारिमै कुहिएर गयो,’ उनले भने । समितिले संक्रियता नदेखाउँदा हाट बजार नियमित संचालन हुन नसकेको उनले बताए । हाट बजारसम्म उत्पादित कृषि उपज लिएर आउजाउ गर्न समस्या हुने गरेको समेत कृषकहरुको गुनासो छ । बिक्री नभएको तरकारीहरु फिर्ता लान समस्या हुने गरेको उनीहरु बताउँछन् ।

हाट बजारसम्म तरकारी बेच्न ल्याउने किसानलाई ढुवानी खर्च उपलब्ध गराउँदै आएको पालिकाले बताउँने गरेको छ । तर आफूले हालसम्म ढुवानी खर्च नपाएको गुरुङ बताउँछन् । ‘यो वडामा अलि धेरै तरकारी उत्पादन गर्ने मै हो, यहाँबाट हाट बजारसम्म तरकारी लैजादा गाडीले एकपटकको दुइ हजार लिन्छ तर मैले अहिलेसम्म ढुवानी खर्च भनेर पाएको छैन,’ उनले भने । मौखिक रुपमा पालिकाको कृषि शाखालाई जानकारी गराएपनि लिखित दिन पालिकाले भनेपछि आफू नगएको उनले बताए ।

यता गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोका भने हाट बजार संचालन भएदेखि किसानहरुलाई ढुवानी खर्च उपलब्ध गराउँदै आएको बताउँछन् । ‘किसानको खेतबाट हाट बजारसम्को ढुवानी भाडा पालिकाले तिर्दै आएको छ, हामीले स्टल पनि बनाएर उपलब्ध गराएका छौ, कोल्ड रुम पनि स्थापना भएको छ, त्यो संचालनमा आएपछि बिक्री नभएको सामानहरु किसानले त्यहाँ राख्न मिल्छ, घर बोकेर लानुपर्दैन,’ उनले भने ।

हाट बजार संचालनका लागी बर्षेनी एकदेखि तीन लाखसम्म रकम विनियोजन हुदै आएको उनले जानकारी गराए । यो बर्षपनि एक लाख रकम विनियोजन गरिएको उनले बताए । त्यस्तै उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागी आठ लाख रकम विनियोजन भएको उनले जानकारी दिए । हालसम्म हाट बजारका लागी संघ, प्रदेश र पालिका गरी ६५ लाख रकम खर्च भइसकेको उनले बताए । हाट बजार संचालन हुने क्षेत्रमा ट्रष्ट, दश टन क्षमताको कोल्ड रुम, बिक्री कक्ष, संकलन कक्ष र शौचालय निर्माण भएका छन् । आँवुखैरेनी बजारमा संचालन भएको हाट बजारले गोरखाको हाट बजारलाई प्रभाव पारेको उनको भनाइ छ । ‘आँवुखैरेनीले शुक्रवार हाट बजार चलाउछ, अव हामी फेरी एक पटक बैठक बसेर मंगलवार हाट बजार संचालन गर्ने की भन्नेमा छौ,’ उनले भने ।

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०९:००:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology