दाङ । बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश-३-०१-००५ख ९७१९ नम्बरको रात्रि बस दाङ लमही नगरपालिका-९ रिहार नजिकै गए राति दुर्घटना भएको छ।
आइतबार राति करीब ११ बजे बस दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
दुर्घटनामा परी बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मल्लका अनुसार दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका- १ का ३६ वर्षीय भीमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै, दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको वेला दुर्घटना भएको तथा उनीहरू सबै सकुशल रहेको प्रहरीले बताएको छ।
मृतक दुवै जनाको शव पोस्टमोर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको मल्लले बताए।