कुरिनटार । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चितवनको इच्छाकामना गाउँपालिकाको नतिजा अघिल्लो आर्थिक वर्ष भन्दा पछिल्लो आर्थिक वर्षमा सर्वोत्कृष्ट देखिएको छ । गाउँपालिकाले अघिल्लो आव २०७८।०७९ मा भन्दा पछिल्लो वर्ष आव २०७९।०८० मा उच्च अङ्क प्राप्त गर्दै ८२ प्रतिशत अंक पाएको छ । अघिल्लो आवमा ६३.२५ प्रतिशत मात्र रहेकोमा पछिल्लो आवमा १८.७५ प्रतिशत अंक सुधार भएर आएको छ ।
लिजामा प्रकाशित नतिजा अनुसार प्रक्रियागत स्थितिमा अघिल्लो भन्दा पछिल्लो आवमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आवमा यो स्थितिमा ४१.१८ प्रतिशत देखिएकोमा पछिल्लो आवमा झण्डै दोब्बर प्रगती भएर ७३.५३ प्रतिशत प्रगती देखिएको छ भने समग्र स्थितिमा अघिल्लो आवमा ६५.४८ भएकोमा पछिल्लो वर्ष सुधार भएर ७६.१९ र परिमाणात्मक स्थितिमा अघिल्लो आवमा ७८.८९ भएकोमा सामान्य सुधार भएर पछिल्लो आवमा ९१.११ देखिएको छ ।
यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको विभिन्न शीर्षकको १० सूचक मध्य अधिकांश सूचकमा पछिल्लो वर्ष सर्वोत्कृष्ट अंक पाएको छ । लिजाको प्राप्त नतिजालाई सुक्ष्मसँग अध्ययन गर्दा पछिल्लो आवमा सबैभन्दा राम्रो न्याय सम्पादनमा शतप्रतिशत सफलता देखिएको छ भने सबैभन्दा कम सामाजिक समावेशीकरणमा ६५ प्रतिशत अंक पाएको छ यद्यपी यो शीषर्कमा कम अंक पाएपनि अघिल्लो आर्थिक वर्षलाई आधार मान्ने हो भने पछिल्लो वर्षमा यो अंकमा अध्याधिक सुधार भएको पाईन्छ । अर्थात अघिल्लो आर्थिक वर्षमा सामाजिक समावेशीकरणमा जम्मा २० प्रतिशत अंक पाएकोमा पछिल्लो आर्थिक वर्षमा अध्याधिक सुधार भएर तेब्बर भन्दा बढि सुधार भएको देखिन्छ ।
यसैगरी वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९७.७३ प्रतिशत, शासकीय प्रवन्धमा ९४.४४, सेवा प्रवाहमा ८५.९४, सहकार्य र समन्वयमा ८३.३३, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८१.८२, संगठन तथा प्रशासनमा ७५, भौतिक पूर्वाधारमा ७३.०८, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ६६.६७ र सामाजिक समावेशीकरणमा ६५ प्रतिशत अंक प्राप्त भएको छ ।
पछिल्लो आर्थिक वर्षमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जगतप्रसाद भुषाल रहनुभएको थियो भने गाउँपालिका अध्यक्षमा दान बहादुर गुरुङ रहनुभएको छ । यद्यपी प्रमुख प्रशासकीय अधिकृत भुषाल खुम्बु पासाङल्हामु गाउँपालिका चौंरीखर्क, सोलुखुम्बुमा सरुवा भैसक्नु भएको छ ।