Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिदै गोरखाको गण्डकी गाउँपालिका

तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिदै गोरखाको गण्डकी गाउँपालिका

पत्रपत्रिका

१, फाल्गुण २०८०
तरकारी उत्पादन गर्ने किसानलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिदै गोरखाको गण्डकी गाउँपालिका

मेलिना बराम, भुम्लिचोक । गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी बिक्री गरेबापत प्रतिकेजी दुई रुपौयाँ गाउँपालिका कार्यालयबाट अनुदान पाउने भएका छन् । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेको हो ।

images

गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को आन्तरिक कार्यक्रम अन्तरगत किसानलाई प्रोत्साहन स्वरुप उत्पादनमा आधारित अनुदान दिन लागिएको कृषि विकास अधिकृत एन्जिला देवकोटाले जानकारी दिइन् । अनुदान वितरणका लागि गाउँपालिका र पालिकाभित्र रहेका कृषि सहकारी बीच यही माघ २३ गते मंगलबार दुई पक्षीय सम्झौता भएको छ । आठवटा वडा रहेको गाउँपालिकाभित्र ७ वटा सहकारीहरु रहेका छन् । पालिकाभित्र सुन्तला उत्पादक कृषि सहकारी, गोर्दीटार कृषि सहकारी, असल साथी बहुउद्देश्यीय सहकारी संस्था, थानीमाई कृषि सहकारी, भैरवी कृषि सहकारी संस्था, जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्था लिमिटेड र सामूहिक कृषि उत्पादन सहकारी संस्था रहेका कृषि शाखाले जनाएको छ । आठ वडामध्य वडा नं. १ मा रहेको कृषि सहकारी भने चलायमान नभएको कृषि अधिकृत देवकोटाले बताइन् ।

‘यी सबै सहकारी पालिकासँग आवद्ध छन्’, उनले भनिन्, ‘यसअघि किसानलाई आवश्यक पर्ने मल पनि ती सहकारीहरुले नै समन्वय गरेर दिई रहेका थिए । पालिकाले आव्हान गरेअनुसार ती सहकारीहरुले निवेदन दिएका थिए । निवेदन आएका सहकारीहरुसँग नै सम्झौता गरेका हौं ।’ किसानले उत्पादन गरेको तरकारी सहकारीको विक्री केन्द्रहरुमा लैजाने र सहकारीमार्फत बजारसम्म पु¥याइने उनले बताइन् । सामूहिक कृषि उत्पादन सहकारी संस्थालाई गतवर्ष पालिकाले ढुवानी साधन पनि उपलब्ध गराएको उनले जानकारी दिइन् । अधिकृत देवकोटाका अनुसार किसानले उत्पादन गरेको तरकारी सोही साधनमार्फत बजारसम्म ढुवानी गर्न सजिलो भएको छ ।

‘किसानले उत्पादन गरेको तरकारी सहकारीमा लगिन्छ, त्यहाँबाट बिक्रेता, काँटावालाहरुले सहकारीमा नै पुगेर पनि लान्छन्’, उनले भनिन्, ‘ढुवानी साधनमार्फत तरकारी काठमाडौंको कालीमाटी तरकारी बजार तथा अन्य तरकारी बजारसम्म पु¥याइनेछ । तरकारी बजारहरुबाट आएको बिल सहकारीले जम्मा गर्ने र त्यही आधारमा अनुदान दिने उनले बताइन् । ‘कुन किसानले कति उत्पादन ग¥यो भन्ने अभिलेख सहकारीले राख्छ’, उनले भनिन्, ‘तरकारी विक्री भएपछि पालिकाले उपलब्ध गराउने अनुदान दिन्छ ।’ अनुदान वितरणका लागि आर्थिक बर्ष ०८०÷०८१ मा कृषि शाखातर्फ ३७ लाख र पशु शाखातर्फ २० लाख गरी ५७ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।

यो अभियानले किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने साथै आत्मनिर्भरता बढाउने पालिकाको विश्वास रहेको उनले बताएकी छिन् । ‘यसअघि किसानहरुले उत्पादन गरेता पनि बजार नपाउने गरेको गुनासो आउँथ्यो । स्थानीय सरकारले कृषि र कृषकका लागि के ग¥यो त भन्नी प्रश्न उठ्थ्यो’, उनले भनिन्, ‘उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिन लागिएको हो ।’ यसअघि किसानलाई आवश्यक पर्ने मल सहकारीहरुले नै समन्वय गरेर दिई रहेको थियो । तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने संघ तथा प्रदेश सरकारको कार्यक्रमलाई मध्यनजर गरेर यो अभियान सुरु गरिएको उनको भनाइ छ । सो अभियानप्रति किसान खुशी भएको अधिकृत देवकोटाले बताइन् । ‘स्थानीय कृषक पनि खुसी छन्, उत्पादनले बजार नपाए थोरै भएपनि अनुदान पाउने भयो भन्ने कुराले उत्साहित छन्’ उनले भनिन् । पालिकाले मासु र अण्डा उत्पादन गर्ने कृषकलाई पनि प्रतिकिलो ५ रुपैयाँ अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए । ‘अण्डाको आकार ठूलो सानो हुने भएकाले क्रेटभन्दा पनि किलोमा अनुदान दिन भनेका छौं’, उनले भने ।

गण्डकी गाउँपालिका वडा नं. ७ गोविनटारका कृषक रमेश बहादुर वि.कले उत्पादनमा आधरित अनुदान वितरण कार्यक्रमले उत्पादन गर्नमा उत्साह थपेको बताएका छन् । ‘किसानलाई अनुदान त पहिले पनि भन्थे, तर कृषिकर्म नै नगर्नेले कागज पत्र मिलाएर अनुदान खान्थे’ कृषक वि.कले भने, ‘हामीले पहिलेदेखि नै सहकारीसँग समन्वय गरेर किसानले उत्पादन गरेको आधारमा अनुगमन गरेर अनुदान दिनु पर्छ भनेका थियौं । अहिले बल्ल हामीले भनेको जस्तो भएको छ ।’ कतिपय स्थानीयले भने गाउँपालिकाले अनुदान दिने कुरामा विश्वास नगरेको समेत उनले सुनाए । ‘अहिले सम्झौता मात्रै भएको हो, कार्यान्वय भएको छैन’ उनले भने, ‘कतिपयले त पत्याएका पनि छैनन् । सरकारले दिन नै सक्दैंन, यो होइन भनेका छन् ।’ सहकारीसँग सम्झौता भएपछि भने उत्पादनमा आधारित अनुदान वितरण अभियान कार्यान्वय हुने कुरामा आफु विश्वस्त रहेको उनको भनाइ छ ।


कृषि ज्ञानकेन्द्र गोरखाले गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ भुम्लीचोकलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गरेको छ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १०:१०:५२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology