कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म लक्षित खर्च रकमको आधा पनि खर्च गर्न नसकेको देखिएको छ । गाउँपालिकाले केहि दिन अघि गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रस्तुत गर्नुभएको प्रगती विवरण अनुसार गाउँपालिकाले दोस्रो ४८.५२ प्रतिशत मात्र खर्च गर्न सकिएको देखिएको छ ।
प्रस्तुत विवरण अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको ६७ करोड ७० हजार बजेटमा दोस्रो चौमासिकमा ३२ करोड ५१ लाख ५९ हजार रुपैयाँमात्र खर्च गर्न सकेको छ । जसमध्ये चालु खर्च तर्फ ४४ करोड ७३ लाख ८३ हजार मध्य ५४.५९ प्रतिशत अर्थात २३ करोड ८७ लाख २३ हजार रुपैयाँ मात्र खर्च भएको छ ।
यस्तै पूँजीगत खर्चतर्फ २२ करोड २६ लाख ८७ हजार मध्य ३७.१४ प्रतिशत अर्थात ८ करोड ६४ लाख ३५ हजार रुपैयाँ मात्र खर्च हुन सकेको छ ।
यद्यपी गाउँपालकाको अधिकांश योजनाहरु सम्पन्न भै भुक्तानीको चरणमा रहेकोले वैशाख महिनामा वित्तिय प्रगती बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १० गतेसम्म करिब ५५ प्रतिशत बजेट रकम खर्च भैसकेको छ ।