Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गर्मी छल्ने नजिकको गन्तव्य बन्दै इच्छाकामनाको उपरदाङगढी : सडक सञ्जालले आउजाउमा सहज

गर्मी छल्ने नजिकको गन्तव्य बन्दै इच्छाकामनाको उपरदाङगढी : सडक सञ्जालले आउजाउमा सहज

पत्रपत्रिका

२७, बैशाख २०८१
गर्मी छल्ने नजिकको गन्तव्य बन्दै इच्छाकामनाको उपरदाङगढी : सडक सञ्जालले आउजाउमा सहज

दाहाखानी । उपरदाङगढी कुनै समय चितवनको सदरमुकाम थियो । तर, प्रचारप्रसार अभावमा ओझेल परेको गढी क्षेत्रमा सडकमार्गको पहुँच, बिजुली बत्ती तथा इन्टरनेटको सुविधासँगै आगन्तुकहरुको चहलपहल बढेको छ । चितवनको मुख्य बजार क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि गढी क्षेत्रमा शीतल हुने हुँदा नजिकको घुम्ने गन्तव्य बनेको छ, गढी ।

images

गढी चितवनको पुरानो सदरमुकाम मात्रै होइन, पुरानो ऐतिहासिक किल्लासमेत हो । बाइसे–चौबिसे राज्यको पालामा सेनाले सुरक्षा दिएर बसेको यो ठाउँलाई यहाँका स्थानीय र स्थानीय सरकारले थप संरक्षण र संवद्र्धन गर्दै आएको छ । जसकारण मानिसको घुम्ने ठाउँ बनेको छ । इच्छाकामना गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एउटा प्रमुख गन्तव्य हो ।

सडक सञ्जालको सहजताले पछिल्ला केही वर्षयता गढी पुग्नेहरु नजिकै रहेको मायाटारसम्म पुग्ने गरेका छन् । यही बाटो शक्तिखोरबाट पृथ्वी राजमार्गको फिस्लिङ ओहोरदोहोर गर्न सकिन्छ । त्यसकारण कतिपय मानिसहरु गढी घुमेर नजिकै रहेको मायाटार बस्न पुग्छन् । गढी हेर्नका लागि इच्छाकामना गाउँपालिकाले प्रवेश शुल्कको व्यवस्था मिलाएको छ, प्रतिव्यक्ति ५० का दरले । यसबाट गाउँपालिकाको राजस्व सङ्कलनमा समेत टेवा पुगेको छ ।

IMG_9853.jpg

टिकट काउन्टरका टीका गुरूङका अनुसार शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाको समयमा गढीमा पाहुनाको राम्रै चहलपहल हुने गरेको छ । अन्य दिनमा समेत मानिसहरुको आवतजावत हुँदै आएको छ । ‘बिदाको दिन त गढी हेर्न टिकट लिनेकै सङ्ख्या दुई सय जनासम्म पुग्छ’, उनले भने, ‘अरु दिनमा पनि दसदेखि १५ जनासम्म त नियमित नै हुने गरेको छ ।’ गाउँपालिकाले केही समयअघि जीर्णोद्धार गरेसँगै गढीको पुरानो ढोका नयाँ बनाएको छ ।

गढीका स्थानीय सविन गुरूङका अनुसार गढी पुग्नेहरु अधिकांश चितवनकै हुन्छन् । बजारबाट नजिकको दूरीमा भएको हुँदा अधिकांश गढी घुमेर फर्किन्छन् । ‘करिब ८० प्रतिशत आगन्तुक त चितवनकै हुन्छन्’, तेज होमस्टे सञ्चालकसमेत रहेका गुरूङले भने, ‘त्यसमा पनि अधिकांश घुमेर फर्किन्छन् ।’ आगन्तुकलाई कम्तीमा एक रात गढीमै बस्ने वातावरण सिर्जना गर्न स्थानीय र स्थानीय सरकारसँग छलफलसमेत चलिरहेको उनले बताए ।

स्थानीय खानाका परिकार तथा स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्न सके आगन्तुकलाई मनोरञ्जनसमेत प्रदान गर्न सकिने उनको भनाइ छ ।

ऐतिहासिक किल्लामा ‘फोटो जोन’

केही महिनाअघि गढी घुम्नेहरुका लागि फलामको ‘फोटो जोन’ बनाइएको छ । आगन्तुकहरु त्यही जोनमा बसेर तस्बिर खिच्छन् । तर, कतिपयले भने ऐतिहासिक एवं पुराता¤िवक किल्लामा यस्ता संरचना निर्माण गरिँदा त्यसले गढीको इतिहास खतरामा पर्ने सङ्केत देखिएको बताएका छन् ।

gadhi 1.jpg

‘पहिलोपटक उपरदाङगढी पुगेँ । सबै राम्रो लाग्यो । तर, देशकै इतिहास बोकेको क्षेत्रमा पछिल्लो समय निर्मित फलामे संरचनाले गढीको आकर्षण घटाएको जस्तो लाग्यो’, गोरखाबाट घुम्न आएका विक्रम गुरूङले भने, ‘यस्तो किल्लालाई संरक्षण गर्ने हो । तस्बिर जता खिचे पनि ठाउँ खुला छ । फलामको संरचना बनाइरहनुपर्ने आवश्यकता नै छैन ।’

भरतपुरबाट बिदाको दिन पारेर घुम्न आएका उमाकान्त पौडेलले पनि गढीमा पर्यटक तान्न फलामको फ्रेम बनाउन आवश्यक नै नरहेको प्रतिक्रिया दिए । ‘गढी आफैँमा इतिहास बोकेको क्षेत्र हो । इतिहास बुझ्नेहरु त्यसै आउँछन्’, उनले भने, ‘त्यसकारण यस्ता संरचना निर्माण गर्नुभन्दा प्रचारप्रसारमा बढी ध्यान दिनुपर्छ ।’ चितवनपोष्टबाट

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १६:२८:०६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology