शान्ता कमली, लमजुङ, २५ माघ । कोरोना भाइरसका कारण बन्द रहेको लमजुङको राइनासकोट होमस्टेमा एघार महिनापछि पर्यटक आगमन खुला गरिएको छ । गत चैतदेखि बन्द गरिएको नेपालको उत्कृष्ट तथा नमुना राइनासकोट होमस्टे ११ महिनापछि खुला गरिएको हो ।
लमजुङको प्रवेशद्वारा पाउँदीबाट तीनघण्टाको पैदल यात्रा र दुई घण्टाको सवारी यात्रापछि राइनसकोट पुग्न सकिन्छ । शाहवंशीय राजाको उद्गमस्थलको रुपमा रहेको राइनासकोटनेपाल एकीकरणको सुरुको विन्दु पनि हो । यहि स्थानमा रहेको होम स्टेहरु ११ महिना पछि खुलेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर पाहुनालाई स्वागत गर्ने गरिएको छ । लकडाउनसँगै घरबास व्यवसाय संकटमा परेकाले पर्यटकका लागि होमस्टे खुला गरिएको गुरुङको भनाइ छ ।
होमस्टे सञ्चालन भएका घरमा साबुनपानी र स्यानिटाइजर व्यवस्था गरिएको छ । होमस्टे खुलाए पनि विगतमा जस्तो सामूहिक स्वागत नगरी घरघरमै पाहुनाको स्वागत गर्ने होमस्टे व्यवस्थापन समितीका उपाध्यक्ष विष्णुमाया गुरुङले बताउनुभयो । एक हजार आठ सय मिटर उचाइमा रहेको राइनासकोट होमस्टेबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासी लगायतका १६ वटा जिल्ला देख्न सकिने स्थानीय समाजसेवी कृष्णराज ओलीयाले बताउनुभयो ।
राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । तत्कालीन राजा द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूधपोखरीमार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ ।