प्रतीक्षा आले मगर, घैरुङ । सहिदलखन गाउँपालिका वडा नं ६ खगीदेखि वडा नं ९ नाम्जुङसम्म ३.५ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पालिकाले संघीय समपुरक बजेट अन्तरगत ९ करोड ९८ लाख लागतमा सडक कालोपत्रेको काम सुरु गरेको हो ।
‘संघीय समपुरक बजेट अन्तरगत संघको ५० र पालिकाको ५० प्रतिशत लागतमा सडक कालोपत्रे हुँदै छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने, ‘पालिकालाई जिल्ला सदरमुकामसम्म जोड्ने उद्देश्य सहित कालोपत्रेको काम सुरु गरेका छौँ ।’ ३.५ किमि लम्बाई र सात सय मिटर चौडाईको उक्त सडकको कालोपत्रेको काम सम्पन्न भएसँगै पािलका आवतजावतमा धेरै सहज हुने उनले बताए । ‘अहिले पालिकाबाट केही परसम्म मात्र कालोपत्रे हुन लागेको हो’, उनले भने, ‘खगीबाट पालिका भवनसम्मको १.५ किमि सडक भने अर्को वर्ष कालोपत्रे गर्ने योजना छ ।’
सडक कालोपत्रेका लागि पालिकाले साइनर्जी सचेत जेभीसँग ठेक्का सम्झौँता गरेको उनले बताए । २०७९ माघबाट सुरु भएको काम अन्तिम चरणमा पुगेको मगरको भनाइ छ । ‘यो वर्षको माघसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौँता भएको थियो’, उनले भने, ‘तर, ठेकेदार कम्पनीले समय अगावै सम्पन्न हुनेगरी धमाधम काम गरिरहेको छ ।’ यही असारको पहिलो हप्ताभित्र सम्पन्न हुनेगरी काम भईरहेको उनले बताए ।
गोरखा सदरमुकाम–बुङ्कोट–पालिका भवन हुँदै मनकामना–रामशाह घाट सडक खण्ड अन्तरगत करिब ४० प्रतिशत सडक खण्ड कालोपत्रे भइसकेका छन् । पालिकाले सडक कालोपत्रेका लागि प्रत्येकवर्ष रकम विनियोजन गरेर काम गर्ने गरेको छ । सोही कार्यक्रम अन्तरगत खगीदेखि नाम्जुङसम्मको ३.५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको पालिकाले जनाएको छ । ‘आइतबारदेखि कालोपत्रेको काम सुरु भएको छ, काम सम्पन्न नहुन्जेल सवारी साधन आवतजावतमा बैकल्पिक बाटो प्रयोग गर्न सकिन्छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने ।