कुरिनटार । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ चुमखोेला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार स्थित त्रिशूली नदीमा निर्माण भइरहेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको छ । सोही स्थानमा निर्माण भइरहेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनी ब्लु इनर्जी प्रालिले बेलिब्रिज निर्माण गरेका हुन् ।
हाल बेलिब्रिज निर्माणको काम ९५ प्रतिशत भन्दा बढी सकिएको ब्लु इनर्जी प्रालिका निर्देशक निरञ्जन रेग्मीले जानकारी दिनुभयो । जेठ महिनाभित्रै निर्माण सम्पन्न गरिने र असार पहिलो साताबाट सञ्चालन गर्ने निर्देशक रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले बेलिब्रिज निर्माणको काम ९५ प्रतिशत भन्दा बढी सकिएको छ, पुलको जगदेखि दयाँबायाँ माटो फिलिङ गर्ने काम केही दिनभित्रै सकिन्छ, यही जेठ महिनाभित्रै सम्पन्न गरि असारको पहिलो साताबाट सवारी आवागमन गर्ने तयारीमा छौँ ।”
२०८० बैशाख अन्तिम साताबाट बेलिब्रिज निर्माणको काम सुरु भएको थियो । उहाँका अनुसार १६ करोड लागतमा निर्माण हुने उक्त बेलिब्रिजको स्टिल संरचना सडक विभागले उपलब्ध गराएको छ । त्रिशूली नदीमाथि एक सय मिटरको बेलिब्रिजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाइको आरसिसी स्टक्चरको पुल बन्नेछ । उक्त बेलिब्रिज रु. १६ करोडको लगातमा सम्पन्न हुन लागेको निर्देशक रेग्मीले बताउनुभयो ।
उक्त बेलिब्रिज पुल निर्माण भएपछि गण्डकी गाउँपालिका सबै वडाका स्थानीयवासीलाई आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो । बेलिब्रिज सञ्चालनमा आएपछि गण्डकी गाउँपालिकामा उत्पादन भएका तरकारी लिन किसानको घरमै व्यापारीहरू पुग्ने भएकाले व्यापार व्यवसाय पनि बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो । गण्डकी गाउँपालिकाका किसानहरुको उत्पादन बिक्री वितरण गर्ने चितवनको इच्छाकामना गाउँपालिका स्थित फिस्लिङ र कुरिनघाट लगायतको तरकारी बजार हो । मोटरेबल पुल नहुदाँ यहाँका स्थानीयहरुले आफ्नो उत्पादन झोलुङ्गे पुल मार्फत बोकेर बजार सम्म ल्याउन बाध्य छन् ।
अध्यक्ष तिमिल्सिनाका अनुसार २०७१ सालमा उक्त ठाउँमा पप्पु कन्स्ट्रक्सने पक्की पुल निर्माणको जिम्मा लिएर पनि समयमै काम नसकिएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान भइसकेको छ । तर पक्की पुल निर्माणमा ढिलाई हुनेभएपछि जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीका साथै स्थानीयलाई पनि तत्काल सहजताका लागि निर्माण कम्पनीले बेलिब्रिज निर्माण गरेको हो ।