Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ग्रामीण पर्यटनका अनुपम धरोहर : यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

ग्रामीण पर्यटनका अनुपम धरोहर : यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

रासस

२९, जेठ २०८१
ग्रामीण पर्यटनका अनुपम धरोहर : यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

कास्की । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् ।

images

अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ । जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ ।

मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन् । 

पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ । सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ । बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन् । 

सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताए ।  “बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्”, उनले भने, “कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो ।”

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताए । 

मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताए । “पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो”, उनले भने, “पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन् ।” सिक्लेसमा महिनामा ५०/६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग छ । 

वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । “पहिले गोठालाहरु लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ”, वडाध्यक्ष गुरुङले भने, “पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ ।”

सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उनले सुनाए । विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।

सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ ।

सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ । दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ । दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन् । सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा । दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ । ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिइन् । होमस्टेमा आन्तरिक पर्यटकका लागि रु एक हजार दुई सयको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । 

“खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन”, होमस्टेका अध्यक्ष गुरुङले भनिन्, “सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ ।” पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ ।

मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङका अनुसार कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन् । गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ । ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उनले बताए ।

“कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ”, वडाध्यक्ष भोजबहादुरले भने, “ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ ।”

ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उनले बताए । 

पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ । ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताए । 

हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् ।  निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ । 

विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन् । 

images
प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १२:२५:२५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology