Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सन्दर्भ विश्व हात्ती दिवस : पाँच वर्षयता झापामा हात्तीको सङ्ख्या तेब्बरले वृद्धि

सन्दर्भ विश्व हात्ती दिवस : पाँच वर्षयता झापामा हात्तीको सङ्ख्या तेब्बरले वृद्धि

रासस

२८, श्रावण २०८१
सन्दर्भ विश्व हात्ती दिवस : पाँच वर्षयता झापामा हात्तीको सङ्ख्या तेब्बरले वृद्धि
images

झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

images
images

पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर वृद्धि भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ ।

“भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्मरूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेका छन् ।

जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । “यसअघि कहिल्यै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ”, उनले भने, “महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्रव बढेको छ ।”

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए ।

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उनले भने, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए । हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले भने, “हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।”

हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेकाले पनि जिल्लामा परम्परागत हात्तीको सङ्ख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गरेको हात्ती प्रभावित क्षेत्रमा पदयात्राका क्रममा स्थानीयवासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको उनले बताए ।

हात्तीलाई जङ्गलभित्रै राख्ने प्रयास

हात्तीलाई वन जङ्गलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जिल्लाका विभिन्न वन परिसरमा गत वर्ष मात्रै जङ्गलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ भने २१ हात्ती मरेका छन् । मृत्यु भएका मानिसमध्ये सात जना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० वटाको नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते गज, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १०:१३:४३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology