Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई

प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई

इच्छाकामना न्युज

३१, श्रावण २०८१
प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई
images

काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरेको छ । हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने सङ्घीय सरकारले तय गर्ने गरिएकोमा अब मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने छन् ।

images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिए । उनका अनुसार यस कार्यक्रमका लागि चालु आवका लागि छुट्याइएको बजेट स्थानीय तहको ‘तालिमको मोडालिटी’ अनुसार सिधै जान्छ । तालिम स्थानीय तहको आवश्यकता, माग र त्यसले दीर्घकालसम्म रोजगारीमा सहयोग पुग्ने हुनु पर्छ । तालिमको अनुगमन र नियमन स्थानीय तहले नै गर्नु पर्छ । आवश्यकता परेको खण्डमा मात्रै सङ्घीय सरकारबाट अनुगमन हुने उनले जानकारी दिए ।

छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भएको थियो । महालेखा परीक्षणको कार्यालय र राष्ट्रिय योजना आयोगले समेत कार्यक्रमको प्रभावकारिता नदेखिएको भन्दै यसको पुनर्संरचनाका लागि सुझाव दिएका थिए ।

कार्यक्रमसम्बन्धी निर्देशिकामा ७५३ वटा पालिकाको मागका आधारमा सिप र तालिमको विवरण सङ्कलन गर्ने र सोही विवरणका आधारमा सिप प्रदान गरिने उल्लेख छ । तालिममा सहभागीले दैनिक न्यूनतम पारिश्रमिक पनि प्राप्त गर्ने छन् भने सिकेको सिपबाट आफ्नै पालिकामा स्वरोजगार बन्न सक्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई न्यूनतम रोजगारीलाई कायम राख्दै सिप र तालिमसँग जोडेर दिगो बनाउने उद्देश्य राखिएको छ । उक्त कार्यक्रमको विद्यमान निर्देशिकामा न्यूनतम एक सय दिनको रोजगारीलाई बढी प्राथमिकता दिएकोमा संशोधित निर्देशिका न्यूनतम रोजगारीलाई सिप विकास र उद्यमशीलतासँग जोडेर लैजाने कार्यलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ । निर्देशिकामा उक्त कार्यक्रमलाई तीन तहको सरकारको स्वामित्व स्थापित हुने गरी कार्यक्रमको ढाँचा पुनर्संरचना गरिएको छ । रोजगार परियोजनाका आधारमा कार्यस्थलमै तालिम र रोजगारी दिने, तालिम पाएकालाई सहुलियत ऋण उपलब्ध गराउने विषय पनि समेटिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले चालु आव २०८१र८२ को बजेटमार्फत छ अर्ब रुपियाँ विनियोजन गरेको छ । आव २०७५र७६ देखि सुरु गरिएको उक्त कार्यक्रममा आव २०८०र८१ मा पाँच अर्ब ९४ करोड छुट्याएको थियो भने आव २०७९र८० मा सात अर्ब छुट्याएको थियो ।

सरकारले स्वदेशमा रोजगारी सिर्जनाका लागि पर्याप्त बजेट विनियोजन गरे पनि कार्यान्वयन पक्ष फितलो हुँदा तत्कालीन रोजगारी सिर्जना नीतिमा मात्र सीमित हुँदै आएको छ ।

उक्त कार्यक्रम सञ्चालनको पहिलो वर्षमा १३ दिनको औसत रोजगारी दिएकोमा आव २०८०र८१ मा औसतमा ७९ दिनको औसत रोजगारी प्रदान गरिएको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार चालु आवको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७५३ वटा स्थानीय तहमार्फत ६० हजारलाई उत्पादनमूलक तालिम र तालिममा सहभागीलाई न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइने छ । यो अवधिमा बेरोजगार सूचीकृतको सङ्ख्या भने आठ लाख ८५ हजार १५४ जना रहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

  •  

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०८:४६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology