कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा रहेको हाइवे जनता केयर हस्पिटल प्रा.लि. ले स्थानीय जनताको स्वास्थ्य माथि खेलवाड गरेको पाईएको छ । स्वास्थ्य संस्था जस्तो संवेदनशील संस्था संचालन गर्दा थुप्रै चरण पार गरेर सरकारी निकायमा दर्ता तथा अनुमति लिई संचालन गर्नुपर्ने हुन्छ । तर कुरिनटारमा रहेको उक्त हस्पिटलले कम्पनी रजिष्ट्रारमा दर्ता गर्ने बाहेक अन्त कुनै पनि निकायबाट अनुमति इजाजत नलिई हस्पिटल संचालन गरेको पाईएको छ ।
यसरी अवैधानिक रुपले हस्पिटल संचालन गर्दा सेवाग्राहीको स्वास्थ्यमा केहि तलमाथि भए कोही पनि जिम्मेवार र जवाफदेहि नहुने हुन्छ । यसले स्वास्थ्य सेवा लिने जनता झन मर्कामा पर्ने देखिन्छ ।
हस्पिटल २ वर्षदेखि अवैधानिक संचालन
आजदेखि इच्छाकामना गाउँपालिकाकै वडा नं. ५ स्थित मुग्लिन बजारमा समेत सोही नाम (हाइवे जनता केयर हस्पिटल प्रा.लि.)बाट हस्पिटल संचालनमा आएपछि हस्पिटल बारे सोधीखोजी गर्दा उक्त हस्पिटल विगत २ वर्षदेखि बिना अनुमति अवैध रुपमा संचालनमा रहि आएको पाईएको हो ।
सुरुवातमा इच्छाकामना न्युजले फोन सम्पर्क गर्दा हस्पिटल संचालक भन्दै सम्पर्कमा आएका पंकज झा आफैले हस्पिटलले कम्पनी रजिष्ट्रारको कार्यालयमा बाहेक अन्यत्र कुनै पनि निकायबाट अनुमति नलिएको स्वीकार गरे । यद्यपी अनुमति बिनै यतिका वर्षसम्म कसरी हस्पिटल चलाउनुभयो भनि प्रश्न गरेपछि भने उनले आफु हस्पिटलको कर्मचारी भन्दै अर्को संचालकलाई फोन गर्नु भन्दै मोबाईल नम्बर दिएर पन्छिए ।
कुराकानीकै क्रममा उनले कुरिनटारमा हस्पिटल नभै पोलिक्लिनिक संचालन गरेको र अब मुग्लिनमा सो नामको हस्पिटल चलाउन लागेको बताए । तर उनले बोलेको यो कुरा सरासर झुट देखिन्छ किनभने यो समाचार तयार पार्दासम्म कुरिनटारमा हाईवे जनता केयर हस्पिटल प्रा.लि.कै नामबाट हस्पिटल संचालनमा छ भने त्यहाँ हस्पिटलकै सेवा सुविधा अनुसार विरामी भर्ना गरेर उपचार सेवा दिईरहेको छ ।
झासँगको कुराकानी पश्चात हस्पिटलको संचालक भन्दै अर्का एक व्यक्ति निशान त्रिपाठीले इच्छाकामना न्युजसँग कुराकानी गरेका थिए । उनले पनि हस्पिटल संचालनको अनुमतिको तयारीमा रहेको बताए । तर हामीले यतिका वर्षसम्म बिना दर्ता कसरी संचालन गर्नुभयो भन्दा गाउँपालिकाले हस्पिटल संचालनको अनुमति दिन ढिलाई गरेको भन्दै पालिकालाई दोष दिए । तर उनले पनि अनुमति बिना हस्पिटल संचालन गर्न मिल्छ भन्दा कुनै जवाफ दिन सकेनन् ।
गाउँपालिकाको अनुमति छैन
यस सम्बन्धमा इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटासँग कुराकानी गर्दा हस्पिटल संचालनको लागि गाउँपालिकाले अहिलेसम्म कुनैपनि अनुमति नदिईएको बताउनुभयो । भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले सो सम्बन्धि बुझेर थप कारबाही प्रक्रिया अगाडी बढाइने बताउनुभयो ।