Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…

रासस

१५, भाद्र २०८१
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…
images

झापा । जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।

images
images

गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो । “प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी कृन्द्रित छौँ”, उहाँले भन्नुभयो, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्यो र उसलाई बनाउनुपर्यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”

विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।

हजारौँ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको जानकारी दिनुभयो ।

“कस्तो योग्यता र अनुभवप्राप्त शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर ऐनमा भनिएकै छ”, अध्यक्ष खतिवडाले भन्नुभयो, “त्यही नियमलाई टेकेर व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा पूरा गरिसक्नुभएको ज्येष्ठ शिक्षक भट्टराईलाई नियुक्त गरेको हो ।”विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्यो भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।

विद्यालयको वातावरण पठनपाठन प्रभावित हुन थालेपछि तत्काल समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउन व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो ।

नियुक्ति पाएका दुवै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेकाले हाल निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहनुभएको छ । 

images
प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - १९:१०:४५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology