Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

इच्छाकामना न्युज

१, कार्तिक २०८१
सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

काठमाण्डौ । दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन्  । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु पर्‍यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो ।

images

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडेर विदेशिने कुन आमालाई खुशी मिल्छ होला र’, उनले भनिन्, ‘मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।’ गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार थिए । ती सबै आमाहरु थिए ।

त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा जवाफ दिइन्, ‘जे त होला ।’ तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन् । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेशिनु कुनै महत्वाकांक्षा नरहेको उनको भनाइ छ ।

‘यो मेरो बाध्यता हो’, उनी भन्छिन्, ‘छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेशिने बनायो ।’ तामाङका श्रीमान् सवारी चालक छन् । सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमानलाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातीमा दाग देखिएपछि उनले आफै विदेशिने निधो गरेकी हुन् । ‘नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेशिनुको विकल्प देखिनँ’, उनले भनिन् ।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन् । श्रीमानले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’ मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन् । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो । श्रीमानलाई फकाएर मलेसिया पठाइन् । विदेश गएका श्रीमानले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमानले न त पैसा पठाए न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन् । ‘विदेश गएको श्रीमानले एक सुको पठाएन, वास्तै गरेन’, उनले भनिन्, ‘छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदशिन लागेकी हुँ ।’

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ । विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको संख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वृद्धि भई ८० हजार पुगेको छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो  तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार खाडी मुलुक जाने महिलाको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । ‘अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ’, प्रवक्ता ढकालले भने, ‘त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउँछिन् । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भनिन्, ‘आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।’ राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेशिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनु पर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् । बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन् । ‘नेपाली समाजमा महिलाले थुप्रै विभेद सहन बाध्य छन्’, उनी भन्छिन्, ‘जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।’ आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील नीति ल्याउन जरुरी रहेको उनको सुझाव छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०८:१०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology