Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अकबरे खुर्सानीबाट लोभलाग्दो आम्दानी

अकबरे खुर्सानीबाट लोभलाग्दो आम्दानी

पत्रपत्रिका

२, कार्तिक २०८१
अकबरे खुर्सानीबाट लोभलाग्दो आम्दानी

कोकिला ढकाल, इलाम  । घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ  जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ । 

images

सूर्योदय नगरपालिका–१२ का किसान मदन राईको घरबारीमा पुग्दा राई परिवारको परिश्रम र पसिना सबै अकबरेको बोटमा झुलेको देखिन्छ । करिब १५ वर्षयतादेखि अकबरेको खेती गर्दै आउनुभएका राईले पछिल्ला वर्षमा अकबरेको बियाँ उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष करिब १३ लाख रुपियाँको अकबरे बियाँ र फल बिक्री भएको थियो । यो वर्ष झन् चार सय किलो बियाँको माग आएको छ । मेरोबाट ५० देखि ६० किलो मात्र बियाँ उत्पादन हुन सक्छ ।” 

सात रोपनी जमिनमा लगाइएको विभिन्न जातका अकबरेलाई एकआपसमा परागसेचन गराई नयाँ जात उत्पादन गरिएको राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ठाडो फल्ने, तल झुन्डिएर फल्ने, पाटा परेर फल्ने गरी फरक फरक दाना छन् ।’’ उहाँका अनुसार यी दानाको भित्र पनि कुनैमा धेरै बियाँ हुने, कुनै खानका लागि धेरै नै स्वादिलो, बास्नादार हुन्छ र रोगसँग लड्न सक्ने क्षमता भएको छ । 

बिउको माग धेरै भएपछि आउँदो वर्ष चाहिँ आफ्नो गाउँका सबै किसानलाई यही अकबरे खेती गर्न लगाउने र बिउको माग पूरा गर्ने राईको लक्ष्य छ । उहाँ अहिले दाना अकबरे पनि प्रतिकिलो पाँच सय रुपियाँका दरले बिक्री भइरहेको बताउनुहुन्छ । 

यहाँ उत्पादन भएको अकबरेको बिउ ‘ए ग्रेड’ को प्रतिग्राम ६० रुपियाँ र ‘बी ग्रेड’ को प्रतिग्राम ४५ देखि ५० रुपियाँ मूल्य रहेको छ । नेपालभर र बाहिरी देशबाट समेत बिउको माग छ । उहाँँले यस वर्ष अहिलेसम्म अकबरे बिक्रीबाट करिब छ लाख आम्दानी भएको बताउनुभयो । उहाँले अझै बियाँ र दाना सबै गरेर करिब बिस लाख रुपियाँसम्म आम्दानी हुने आशा गर्नुभएको छ ।  बर्सौंदेखि अकबरे खेती गर्दै आउनुभएका राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो, आफैँले उत्पादन गरेको गँड्यौलाको मल प्रयोग गरिरहेको बताउनुहुन्छ ।

अकबरे खेती सुरु गरेपछि यसको आम्दानीले घर चलाउन र छोराछोरी पढाउन पनि धेरै सजिलो भएको राईकी श्रीमती चन्द्रमाया राईले बताउनुभयो । दुुई छोराछोरीमध्ये छोरा धनकुटामा कृषि विषयमै अध्ययनरत हुनुहुन्छ । किसान बाबुुआमाकी छोरी स्वेच्छा भने इलामको बरबोटेस्थित प्राइम बैङ्कमा कार्यरत हुनुहुन्छ । आफूूहरूले अँगालेको कृृषि विषयमै छोराले अध्ययन गर्दा राई दम्पती निकै सन्तुुष्ट हुनुहुन्छ । 

जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामका तथ्याङ्क छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - ०८:२१:१४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology