चितवन, २९ माघ । आदीवासी जनजाति समुदायको एक जाति गुरुङ । विशेषत संस्कार र संस्कृतिमा धनि जातिको रुपमा गुरुङलाई चिनिने गरिन्छ। यो समुदायले मनाउने एक महत्वपूर्ण पर्व माङी आज परेको छ। यहि अवसरमा चितवन सहित देश विदेशका गुरुङ समुदायले आज माङी पर्व मनाउदैछ।
विशेष गरेर गुरुङ समुदायले १२ महापुरुष र ७ कन्या माङी(महिला) मार्फत आफ्नो सृष्टि भएको मान्दछ। सोहि आफ्नो सृष्टिकर्ता ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायले यो पर्व मनाउने गर्दछन्। माङीमा विशेष गरेर गुरुङहरुको मौलिक पुजा घर क्होइवोमा गई ७ कन्या माङीलाई सम्झदै गुरुङ समुदायको खेगी प्हच्यु क्ल्हेप्री गुरुहरुले जग बसाली दश ग्रह वेद वेदान्तरको पाठ पूजा प्रवचन गर्दै पितृहरुको नाममा बत्ति बाली विशेष पुजा गर्ने गर्छन्।
यो पर्व गुरुङहरुको सृष्टिकर्ता १२ महापुरुष र ७ कन्या माङीको भेट भएको दिन माघे औंसी पछिको परेवा तिथिको दिनलाई मान्ने गर्दछ। यसपटक यो दिन आज अर्थात माघ २९ गते परेको तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो। यसैले देश विदेशमा रहेका गुरुङ समुदायले माङी पर्व मनाउदैछ।
चितवनका गुरुङ समुदायले पनि आज यो पर्व मनाउदैछ। चितवनमा तमु प्ये ल्हु संघ चितवनको महिला समितिले आयोजना गरेको माङी पर्व विषेश कार्यक्रममा गुरुङ समुदायको खेगी प्हच्यु क्ल्हेप्री गुरुहरु मार्फत बिहान ८ बजे पूजापाठ गर्ने तयारी भैरहेको महिला समितिका अध्यक्ष इन्द्रा गुरुङले बताउनुभयो।