Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

किसानले पाल्न छाडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

किसानले पाल्न छाडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

इच्छाकामना न्युज

१४, कार्तिक २०८१
किसानले पाल्न छाडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
images

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन्। सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन्। 

images
images

पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो) बाटै हुन थालेको छ। बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन। 

अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छाडिएको हो। अहिले ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ। 

जिल्लाका ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन। 

अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ। पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ।

त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका-५ का कृष्णबहादुर खत्रीले बताए। मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उनको भनाइ छ। 

उनले भने, ‘पाँच/सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गर्थ्यौं, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिनभरि लगाउने काम एकै छिनमा सकिन्छ।’

निसीखोला गाउँपालिका-४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताए। मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उनको अनुभव छ। 

‘अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकका घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ’, उनले भने, ‘सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु।’

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ। अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो। 

गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ। 

नगरप्रमुख श्रेष्ठले भने, ‘आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनुभएको छ।’

images
प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - ०८:४३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology