काठमाडौँ, कार्तिक २६ । पेड्रो नेटोको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बीमा आर्सनललाई १–१ को बराबरीमा रोकेको छ । यो नतिजाले आर्सनलको उपाधि जित्ने अभियानमा थप धक्का पुगेको छ ।
मिखेल आर्टेटाको आर्सनलले सुरुमा ग्याब्रिएल मार्टिनेलीको गोलले दोस्रो हाफमा अग्रता लिएको थियो । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा त्यसको दस मिनेटपछि नेटोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।
आर्सनल लिगका पछिल्ला चार खेलमा जित निकाल्न असफल रहेको छ । चेल्सी भने १९ अंकमा तेस्रो स्थानमा उक्लेको छ र उसको पछाडि समान १९ अंकमै आर्सनल रहेको छ । दुवै लन्डन टिम शीर्षमा रहेको लिभरपुल भन्दा नौ अंकले पछाडि छन् ।
आइतबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–०, न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ३–१ र इपस्विच टाउनले टोटनहमलाई २–१ ले हरायो ।