Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

इच्छाकामना न्युज

८, मंसिर २०८१
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पोखरा, मङ्सिर ८ गते। पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ।

images

 

प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन्।

 

प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ। बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताउनुभयो।

 

“पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि हो र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको छ”, बाडेले भन्नुभयो, “सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहसिक यात्राले लोभ्याउँदै लगेको छ।” उहाँले बेलुनको उडानले पाँच वर्ष उमेर माथि साहसिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताउनुभयो। बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी दिनुभयो। “पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ, हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो। उहाँका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्यान्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन्।

 

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताउनुभयो। “पोखरा प्राकृतिक सुन्दरताको केन्द्र मात्रै नभएर साहसिक गतिविधिहरूको पनि महत्त्वपूर्ण सहर बनिसकेको छ, पछिल्लो समय सार्क राष्ट्रका पर्यटकका लागि हट एयर बेलुन विशेष आकर्षणको केन्द्र बनिरहेको छ”, उहाँले भन्नुभयो। अध्यक्ष पहारीले बेलुनले साहसिक खेल र पर्यटनमार्फत पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। युरोपियन मापदण्डअनुसारका हट एयर बेलुन क्यानमा जाँच गरेर मात्र भित्र्याइन्छन्। काठमाडौँमा सनराइज बेलुनले सन् १९९१ हट एयर बेलुन भित्र्याएको थियो। काठमाडौँमा हवाई चाप बढ्न थालेपछि बेलुन उडान बन्द भएको थियो। पोखरामा भने पहिलो पटक सन् २००९/१० मा बेलुन उडान प्रयास गरिए पनि व्यावसायिक रूपमा सन् २०१८ मा बेलुन नेपाल प्रालिले सुरु गरेको हो। अहिले कम्पनीसँग तीन वटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन्। त्यसमा पाँच, आठ र १२ जनाले उडान गर्न सक्छन् भने यसको मूल्य रु ७० लाखदेखि एक करोड ४० लाखसम्मका छन्। बेलुन उडानका लागि नेपालीलाई रु ११ हजार, सार्क मुलुकका पर्यटकलाई एक सय २० अमेरिकी डलर र अन्य मुलुकका नागरिकलाई एक सय ५० अमेरिकी डलर शुल्क लाग्छ। हट एयर बेलुनमा यात्रा गर्ने यात्रुको २० हजार डलरको यात्रु बिमा गरिन्छ। यो शुल्कमा उडानसँगै आकर्षक क्याप, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात, फोटो, भिडियो र प्रमाणपत्रसमेत उपलब्ध गराइन्छ। बेलुन रिजर्भ गरी उडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ। असार, साउन र भदौमा वर्षायामको कारण उडान हुँदैन। उडान समय ४० मिनेटको हुन्छ। कम्पनीले सूर्योदय र सूर्यास्तको समयलाई मध्यनजर गर्दै बिहान ५ देखि ९ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म उडान गराउँदै आएको छ।

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - २०:५०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology