Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

विदेशबाट फर्केर गाउँमै च्याउखेती, दाजुभाइ कमाउँछन् मासिक एक लाख

विदेशबाट फर्केर गाउँमै च्याउखेती, दाजुभाइ कमाउँछन् मासिक एक लाख

रासस

१२, मंसिर २०८१
विदेशबाट फर्केर गाउँमै च्याउखेती, दाजुभाइ कमाउँछन् मासिक एक लाख
images

सुनसरी । बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइकृषि फर्म दर्ता गरी गाउँमै शुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।

images
images

सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउखेती शुरु गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए।

उनकाअनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ सजिलै बचत हुने गरेको छ । हाल उनीहरूले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १७० र फर्ममै किन्न आउने व्यापारीलाई १५० मा बिक्री गर्ने गरेको रोशनले बताए।

‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ’, उनले भने।

तत्कालीन समयमा ५० हजार लगानीमा शुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।

मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले ५०० रुपैयाँमा काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ’, उनले भने, ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ।’

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए। उनका अनुसार हाल दैनिक ३५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।

साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ। ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने।

उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाएका थिए। यो वर्ष बराहक्षेत्र नगरपालिकाले उनलाई ९० हजार रुपैयाँ अनुदान दिएको थियो।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - ०८:१३:२५ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology