चितवन, २३ असोज
चितवनमा चाडबाड लक्षित गरी एकिकृत सुरक्षा योजना लागु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चाडबाडमा हुने अपराध तथा दुर्घटना न्यूनिकरणका लागि सुरक्षा योजना बनाइएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सुरक्षा निकायका सबै संयन्त्रलाई ‘हाइअलर्ट’ मा राखिएको बताउनुभयो।
उहाले कोभिड–१९ को संक्रमण फैलिरहेकाले भीडभाड, मेला, जमघट हुन नदिइने बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सूचना संकलनको संयन्त्रलाई प्रभावकारी बनाइने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोल कक्ष र जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रमा सर्वसाधरणले गोप्य सूचना दिन सक्नेछन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जिल्ला भित्रिने तथा बाहिरिने नाका, शहरी तथा ग्रामिण क्षेत्रका सडक आसपासमा गस्ती पेट्रोलिङ बढाइने बताउनुभयो।
उहाँका अनुसार सादा पोशाकमा खटिने प्रहरी संख्या बढाइने बताउनुभयो । चोरी, लुटपाट, जुवातास खेल्ने जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीका सबै इकाई परिचालन हुने बताउनुभयो । क्यूआरटी समूह समेत गठन गरि मोटरसाइकलबाटै छिटै रेस्पोन्स गर्ने टिम खटाउन सुरु भएको बताउनुभयो । हाइवे क्षेत्रका सवारीमा निगरानी, पुजापाठ हुने क्षेत्रमा भीडभाड हुन नदिने, मेला, जमघट हुन नदिन निगरानी बढाउन सुरु भएको बताउनुभयो । हरेक दिन हरेक युनिट मार्फत ट्राफिक प्रहरीसँग समन्वय गरी आकस्मिक चेकजाँच सुरु भएको बताउनुभयो । होटल, रेष्टुरेण्ट राती अबेरसम्म खोल्न, समूह बनाएर हिडडुल गर्न नदिइने जनाइएको छ।