Logo

मंगलवार, मंसिर २ गते २०८३

images
२०८३, मंसिर २ गते
images

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

images

इच्छाकामना न्युज

२, मंसिर २०८३
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
images

अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा यो प्रजाति देखिनु जैविक विविधताको अध्ययन र अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादहमा यसको उपस्थिति पुष्टि भएपछि जिल्लाको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराको विविधताबारे थप जानकारी प्राप्त भएको छ । कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने यो चरा ठाडादहमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुरको वैज्ञानिक नाम ‘एकान्थोप्टिला निपालेन्सिस’ हो । यो नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ । काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बस्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने भएकाले यसलाई सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति अभिलेख हुनु पक्षी अध्ययन तथा जैविक विविधताको पहिचानका दृष्टिले महत्वपूर्ण मानिने सूचना अधिकारी खड्काले बताउनुभयो ।

प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्वपूर्ण ठाडादह क्षेत्रमा यसको उपस्थिति देखिनुले यहाँको पर्यावरणीय महत्वसमेत उजागर गरेको छ । यस क्षेत्रका वन तथा प्राकृतिक बासस्थानमा अन्य प्रजातिका चरासमेत हुन सक्ने सम्भावना रहेको छ । सूचना अधिकारी खड्काले काँडे भ्याकुरजस्ता दुर्लभ चराको संरक्षणका लागि प्राकृतिक बासस्थान जोगाउनुपर्ने बताउनुभयो ।

वन विनाश,झाडी तथा प्राकृतिक वनस्पतिको क्षयीकरण र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ठाडादहमा काँडे भ्याकुरको उपस्थिति अभिलेख हुनुले अर्घाखाँचीको जैविक विविधताको पहिचानसँगै पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनासमेत उजागर गरेको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर २, २०८३ मंगलवार - १२:१९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology