काठमाडौंफागुन,४। मुलुकको पछिल्लो तीन दशक ९२०४७–७७० शासनकालमा एकैपटकमा धेरै समय प्रधानमन्त्री हुने दोस्रो भाग्यमानी बनेका केपी शर्मा ओलीले सोमबार आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गरेका छन् । २०४७ सालको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीन वर्षभन्दा लामो समय काम गर्न पाएका थिए। त्यसपछि ९२०७४ फागुन ३ देखि हालसम्म० एकैपटक लामो समय काम गरेका ओलीले जे–जस्ता फेहरिस्त प्रस्तुत गरे पनि ती सबै जनआकांक्षाको तुलनामा नगण्य देखिएका छन् ।तीन वर्षअघि ओलीले मुलुककै इतिहासमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्ने मौका पाएका थिए । राजनीतिक स्थिरता र दुई तिहाइ नजिकको बहुमत पाएका उनले चाहेको काम गर्न सक्ने वातावरण बनेको थियो । मुलुकलाई सुशासन र विकास दिन कहीँकतैबाट उनीमाथि छेकबार थिएन । सरकार सञ्चालन र भौतिक पूर्वाधारका काम गर्न स्रोतको अभाव पनि खड्किएको थिएन । आम सर्वसाधारण ओलीकै पक्षमा थिए । विकासका सवालमा प्रतिपक्षले पनि अवरोध गरेको अवस्था थिएन । सबैतिर सकारात्मक पाटो देखिएकाले ओलीलाई काम गरेर इतिहास रच्ने सुनौलो मौका थियो । तर विडम्बना मान्नुपर्छ, प्रधानमन्त्री ओलीले तीन वर्ष लामो कार्यकालको सदुपयोग गर्न सकेनन् । ओली असफल हुँदा मुलुकले पनि सुवर्ण मौका गुमाएको छ ।
प्रधानमन्त्री ओलीको तीन वर्षे कार्यकालमा कामै नभएको भन्न खोजिएको होइन । उनले प्रस्तुत गरेका तथ्यांक पनि मिथ्या होइनन् । तर, बलियो सरकारले जुन गतिमा काम गर्नुपर्ने थियो, त्यो हुन नसकेको मात्र हो । ओलीको तीन वर्षे कार्यकालमा विकास र सुशासनका काम समयको गतिभन्दा अगाडि बढेर हुन सकेका छैनन् । समयको गतिसँगै सर्पजस्तै घस्रेर गरिने विकासले मात्र पुग्दैन । हाम्रो जस्तो गरिब मुलुकका लागि भ्यागुते उफ्राइ ९लिप फ्रगिङ० गतिको विकास हुनुपर्छ । करिब दुई तिहाइको बलियो सरकारप्रति जनअपेक्षा पनि यस्तै थियो ।प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालमा औसतमा साढे ५ प्रतिशतका दरमा आर्थिक वृद्धि भएको गर्वका साथ बताए । २०४७ सालको परिवर्तनपछि माओवादी द्वन्द्वका एकाध वर्षबाहेक हरेक वर्षजसो यही प्रतिशतमा आर्थिक वृद्धि भएको छ । मनसुन राम्रो भएका वर्ष ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहनुपर्दैन । जस्तोसुकै राजनीतिक अस्थिरता र जोकोही प्रधानमन्त्री भएका बेला पनि यस्तो नतिजा आएको इतिहास छ ।विकासका कामका रूपमा हेर्दा ओलीले मुलुकमा निर्माणाधीन आयोजनाहरूलाई निरन्तरता दिनेभन्दा भिन्न काम गर्न सकेका छैनन् । उनको कार्यकालमा एकाध आयोजनाका निर्माणले गति लिए पनि अधिकांश आयोजना समयक्रमसँगै बनिरहेका छन् । सरकारले प्राथमिकता दिएर काम गराउन सकेको छैन । सरकारले राष्ट्रिय गौरव घोषणा गरेर निर्माण प्राथमिकतामा राखेका आयोजना हेर्दा पनि काम कसरी कछुवाको गतिमा भएको छ भन्ने स्पष्ट हुन्छ । राष्ट्रिय गौरवका करिब दुई दर्जन आयोजनामध्ये एउटा आयोजना पनि ओलीको तीन वर्षे कार्यकालमा सम्पन्न हुन सकेको छैन । तर ओलीले तीन वर्षमा भएको केही प्रतिशतको कामलाई उपलब्धि भन्दै प्रस्तुत गरेका छन् ।ओलीले एकै वर्षमा धेरै किलोमिटर सडक कालोपत्रे भएको दाबी गरेका छन् ।
तर त्यही भौतिक पूर्वाधार मन्त्रालयले कुनै पनि वर्ष दिएको बजेट ८० प्रतिशत खर्च गर्न नभएको पक्ष लुकाइएको छ । अर्कातिर तीन वर्ष बजेट ल्याएका प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि लैजाने किसिमको एउटै मेगा आयोजनाको घोषणा पनि गर्न सकेनन् । रेल र पानीजहाजकै सेरोफेरोमा रमाएर ओलीले समय बताए ।