धेरैलाई थाहा नहुन सक्छ चितवनको करिब आधा भूभाग भौगोलिक हिसाबले विकट पहाडी भूभागहरु समेत चितवनमा छ भनेर । किनकि चितवनलाई अधिकांशले तराई या समथर भनेरै चिन्ने गरिएको छ । त्यसैले जिल्लाका सात वटा स्थानीय तहमध्य एउट मात्रै गाउँपालिकाको रुपमा इच्छाकामना गाउँपालिका बनाइएको हो । साविकको ४ वटा पहाडी गाविसहरुलाई समेटेर बनाइएको यो गाउँपालिका भौगोलिक हिसाबले पहाडैपहाडले घेरिएको भूमि हो । विकासका सबै सूचकाङ्कमा पछि परेको यो क्षेत्र राजनैतिक हिसाबले झनै पछि परेको ठाउँ हो । यसैले पनि आजसम्मको इतिहास हेर्दा चितवनको राजनीतिमा यो भूगोलबाट कोही पनि सांसद र मन्त्री बनेको देखिँदैन ।
वर्तमान अवस्थालाई हेर्ने हो भने यहाँको राजनैतिक इतिहासले कोल्टे फेरेको छ । इच्छाकामना गाउँपालिका वडा नं.५ मुग्लिननिवासी कृष्णप्रसाद सिलवाल वागमती प्रदेशको मन्त्रालय सम्हाल्ने स्थानमा पुगेपछि यस भेगकै पहिलो सांसद र पहिलो मन्त्री बन्न सफल भएका छन् । हालसम्म स्थानीय सांसद या मन्त्री नपाएको इच्छाकामनाले पहिलोपटक आफ्नै गाउँठाउँको सांसद र मन्त्री पाएपछि यहाँका स्थानीयले समेत राजनीतिक परिस्थिति बदलिएको महसुस गरेका छन् ।
विगतमा यस क्षेत्रबाट निर्वाचित सांसद भए पनि स्थानीयले स्थान पाएका थिएनन् । हाल वागमती प्रदेशको वन तथा वातावरण मन्त्रीको स्थान पाएका नेकपा एमालेका नेता सिलवाल २०७९ सालमा सम्पन्न निवार्चनमा चितवन क्षेत्र नं.२ प्रदेश सभा (क)बाट निर्वाचित पहिलो सांसद हुनुहुन्छ । राजनीतिमा पुरानो व्यक्ति भए पनि सांसद बन्ने अवसर पहिलोपटक पाउनुभएको हो । अवसर पाउँदा चुनाव नै जितेपछि उहाँले यस क्षेत्रकै राजनैतिक परिवेश बदल्दै जनताको सेवक बन्ने काम गर्दै आउनुभएको छ ।
वि.सं. २०२५ साल असार ८ गते तत्कालीन दारेचोक गाविसको बेलडाडामा जन्मिनुभएका मन्त्री सिलवाल ११ वर्षको उमेरदेखि नै राजनीतिमा हुनुहुन्छ । २०३७ सालको जनमत सङ्ग्रहपछि भएको बहुदलीय व्यवस्थाको माग गर्दै चैत्र २४ गते आयोजना भएको नेपाल बन्दमा आफैँलाई पढाउने गुरु टीकाराम लामिछाने र विष्णु सापकोटाको निर्देशनमा बन्द सफल बनाउन रोडमा गारो लगाएर राजनैतिक आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । सोही समयदेखि राजनैतिक यात्रामा लाग्नुभएका उहाँ त्यतिबेला प्रहरीको गिरफ्तारीमा समेत पर्नुभएको थियो । ‘उक्त घटनामा सहभागी हुनुभएका टीकाराम भट्टराई सरलाई प्रहरीले जेल हाल्यो हामीलाई भने सानै भएकोले सचेत गराएर छाड्यो,’ त्यतिबेलाको घटना सुनाउँदै उहाँ भन्नुहुन्छ ।
त्यसपछि नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुमा आवद्ध हुनुभयो । गोरखाको मकैसिङमा कक्षा १० मा पढ्दैगर्दा विद्यालयबाट स्ववियुको बर्खास्तीविरुद्ध लड्दा उहाँ लखेटिनु भयो । पढ्दापढ्दै लखेटिनु परेपछि भागेर चितवनको बालकुमारी माध्यमिक विद्यालय नारायणघाटमा भर्ना भएर विद्यालय शिक्षा पूरा गर्नुभयो । यसरी देश र समाजकोे लागि अन्याय अत्याचारविरुद्ध बोल्दा उग्रवामपन्थी भनेर तत्कालीन पञ्चायतले २०४३ सालमा उहाँका राजनैतिक गुरुहरु शिवहरि सिलवाल र रामप्रसाद त्रिपाठीसँगै उहाँलाई पनि प्रहरी लगाएर गिरफ्तार ग¥यो । ९ दिनसम्मको हिरासत बसाइमा मरणासन्न हुने गरी यातना दिएर छोडेका थिए । त्यसघटनापछि दोस्रो जीवन पाएको उहाँ बताउनुहुन्छ ।
आन्दोलनकै क्रममा पञ्चायतविरुद्ध भएको २०४६ सालको बृहत जनआन्दोलनमा समेत उहाँको सक्रिय सहभागिता रह्यो । २०४६ साल चैत्र २६ गते बहुदलीय व्यवस्थ्या घोषणा हुँदा मुग्लिङमा वामपन्थीको तर्फबाट बोल्ने मुख्य वक्ता नै उहाँ हुनुहुन्थ्यो । ‘चैत २७ गतेको खुसीयाली सभालाई मैले नै सम्बोधन गरेको थिएँ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसपछि २०४७ सालमा बल्ल मलाई पार्टीले सदस्यता दियो ।’
पार्टी सदस्यता पाएपछि गाउँ कमिटीको विभिन्न जिम्मेवारी सम्हाल्दै २०५० सालमा नेकपा एमालेको चितवन जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यही बेलादेखि नै कविलास, दाहाखानी, दारेचोक, चण्डीभञ्ज्याङलगायत चितवनको पहाडी क्षेत्रहरुमा पार्टी सङ्गठन विस्तारको काम गर्नुभयो । पार्टीप्रतिको लगाव देखेरै २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन दारेचोक गाविसको उपाध्यक्षमा विजयी हुनुभयो ।
त्यसपछि पनि पार्टीको विभिन्न भूमिकामा रहेर काम गर्नुभयो । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादीबीचको पार्टी एकता हुँदा पनि उहाँले पार्टीको जिम्मेवारीअनुसारको काम गर्नुभयो । तर, यो एकता लामो समय टिक्न सकेन । फलस्वरुप २०७८ सालमा तत्कालीन नेकपा फुट्यो र पुरानै पार्टी कायम भए ।
त्यही बेला नेकपा एमालेले उहाँलाई इच्छाकामना गाउँ कमिटिको पार्टी संयोजक बनायो र अधिवेशन ग¥यो । सोही अधिवेशनबाट उहाँ इच्छाकामना गाउँकमिटीको अध्यक्ष बन्नुभयो । उहाँकै नेतृत्वमा दोस्रो स्थानीय तह निर्वाचनमा इच्छाकामनामा एमालेले दुई तिहाइभन्दा बढी पदमा जित हासिल गर्न सफल भयो । यो सफलतासँगै पार्टीले उहाँलाई २०७९ सालमा वागमती प्रदेश सभाको सदस्यमा टिकट दियो । र, जितसमेत हासिल गर्नुभयो । उहाँको जितसँगै इच्छाकामनाबाट इतिहासमै पहिलोपटक सांसद बन्ने इतिहास रच्नुभयो । नेपाली राजनीतिमा निरन्तर दौडिइरहनुभएका सिलवालको जितमा इच्छाकामनाको राजनैतिक इतिहास नै बदलिदियो । त्यसपछिका दिनमा पनि उहाँको राजनैतिक यात्राले एकपछि अर्को सफलता पाउँदै गयो । जसक्रममा २०८० साल भदौमा भएको नेकपा एमाले वागमती प्रदेशको अधिवेशनले भूगोल तर्फको प्रदेश सदस्य (खुला)मा निर्वाचित ग¥यो ।
राजनैतिक घटनाक्रमले सरकार फेरबदल हुने क्रम चलिरह्यो । फलस्वरूप २०८१ साउन ९ गते वागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभई इच्छाकामनाको इतिहासमा पहिलो मन्त्रीको नाम दर्ज गराउनुभयो । यसरी समयक्रमसँगै इच्छाकामनाको राजनैतिक इतिहास बदल्नुभएका उहाँले कानुनमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । शिक्षा र पेशाले अधिवक्ता भए तापनि व्यवसाय नगरीकन आजसम्म गाउँका नागरीकलाई आफ्नो क्षमताले भ्याएसम्मको कानुनी सरामर्श तथा लेखापढी निःशुल्करुपमा दिँदै आउनुभएको छ । समाज सेवालाई आफ्नो धर्म मान्दै आउनुभएका उहाँले आजसम्म कसैको एक रुपैयाँ पनि तलमाथि गर्नुभएको छैन । र, कहिल्यै नगर्ने प्रण गर्नुहुन्छ । ‘बोरु म सकेको अरुलाई दिन्छु । तर, मलाई कसैसँग गलत काम गरेर लोभलालचमा फसेर लिनु र कमाउनु छैन,’ उहाँ भन्नुहुन्छ ।
हालसम्म कुनै पनि विषयमा विवादमा पर्नुभएको छैन । त्यसैले राजनैतिक वृत्तमा मात्र नभई समाजमा पनि स्वच्छ र निष्पक्ष स्वभावको नेताको रूपमा उहाँको परिचय विकसित हुँदै आएको छ । ‘मेरो लक्ष्य भनेकै यस भूगोलका अल्पसङ्ख्यक चेपाङ, जनजाति, दलित सबैलाई नागरिक भएर बाँच्न सक्षम बनाउने हो,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच पु¥याउन सक्ने गरी काम गर्ने सेवकको रुपमा मेरो जीवन समर्पित छ’ ।
यसरी नै जनताको सेवामा लागिपरिरहेका इच्छाकामनाको भूगोलले पाएको पहिलो सांसद एवं मन्त्री कृष्णप्रसाद सिलवाललाई गाउँको खबर विश्वभर पु¥याउने अभियानका साथ संचालित इच्छाकामना न्युज डटकमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा उनलाई ‘इच्छाकामना न्युज विशेष सम्मान–२०८१’ ले सम्मानित गर्न लागिएको हो ।