सरकारी जागिर भनेपछि सबैको आकर्षणको केन्द्र मानिन्छ तर सरकारी जागिर अर्थात् निजामती सेवामा प्रवेश पाउन फलामको चिउरा चपाउनु सरह हो । विभिन्न कठिन चरण पार गरेर मात्र निजामती सेवामा प्रवेश पाइन्छ । प्रवेश मात्र कठीन होइन सार्वजनिक प्रशासनमा आफूलाई अब्बल र इमान्दार सावित गर्न अझै चुनौतीपूर्ण छ।विभिन्न चुनौतीबीच आफूलाई पुष्टि गर्दै अघि बढ्दै छिन् इच्छाकामना गाउँपालिका वडा नं ३ निवासी नर्बदा घिमिरे । उनले वि.सं २०७२ सालमा ३० औं ब्याचबाट शाखा अधिकृत पदमा लोकसेवा आयोगको परीक्षा पास गरेर निजामित सेवामा प्रवेश गरेकी हुन् ।
काठमाण्डौको जोरपाटी हालको गोकर्णेश्वर नगरपालिकामा ठूलो संयुक्त परिवारमा हुर्केकी उनको परिवारमा सानै देखि छोरा र छोरीलाई समान शिक्षा दिनुपर्छ भन्ने मान्यता थियो । साथै मावलमा समेत कसले धेरै पढ्ने, कसको राम्रो पढाई भन्ने नै भेटघाटको मुख्य कुराकानीको विषय हुने गर्दथ्यो । शिक्षाको महत्व बुझेकै परिवार भएको कारण सानैदेखि आफन्त र घर परिवारको माया पाउन राम्रोसँग पढ्न पर्छ भन्ने गहिरो छाप उनमा पर्यो। स्थानीय स्तरमा खुलेका अंग्रेजी माध्यमको विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गर्दै उनले २०५७ सालमा दक्षिण ढोकामा रहेको मनकामना अङ्ग्रेजी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुन् । त्यसपछि डिल्लिबजार स्थित कन्या क्याम्पसबाट स्नातक तह उर्तीण गरेकी उनले पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा मास्टर्स गरिन्। २००९ मा युएसएआइडीको छात्रवृत्तिमा अमेरिका स्थित ओरेगन स्टेट युनिभर्सिटीमा अध्ययन गर्न गै २०११ मा पब्लिक पोलिसिमा मास्टर्स सम्मको अध्ययन पुरा गरिन् ।
अमेरिकामा मास्टर्स अध्ययन गर्न जानुभन्दा अघि उनी काठमाण्डौबाट शिक्षा प्रेमी एवम् सामाजिक अगुवा स्व हिमप्रसाद त्रिपाठीका कान्छा छोरा नरेशचन्द्र त्रिपाठीसँग विवाह गरी इच्छाकामना स्थित कुरिनघाटमा आईपुगिन् । त्यसपछि अमेरिका अध्ययन गर्न पुगेकी उनी अध्ययन सकिएपश्चात नेपाल फर्केर गैर सरकारी संस्थामा काम सुरु गरिन् । करिब ४ वर्ष विभिन्न संस्थामा स्थायी ÷अस्थायी प्रकृतिका काम÷ जागिर गर्ने क्रममा नै उनले निजामती सेवामा प्रवेशका लागि लोकसेवा परीक्षाको तयारी गर्न थालिन् । अन्ततः २०७२ सालमा लोकसेवा परीक्षामा सहभागी भै उर्तीण गरी शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरिन्।उनले विवाह पछि पनि पढाई पुरा गर्न सहजै पाउनु र निजामति सेवामा प्रवेश गर्नुको श्रेय उनको परिवार विशेष गरी उनका ससुरा हिमप्रसाद त्रिपाठीको फराकिलो सोच, माया र प्रेरणालाई दिन्छिन्।
यसरी निजामति सेवामा उनी स्वदेश र विदेशको डिग्रीका साथै गैरसरकारी संस्थामा पनि केही वर्ष प्रोफेसनल रुपमा काम गरेको अनुभव सहित प्रवेश गरिन्। त्यसैले उनको सोच र कार्य सम्पादन शैली अन्यको भन्दा पृथक रहेको उनका सहकर्मी र उनका सुपरीवेक्षक÷ हाकिम बताउने गर्दछन्। सेवाको क्रममा महिला र पुरुष अफिसरबीच खासै त्यस्तो विभेद भएको अनुभव नगरेको भएता पनि महिलाले आफूलाई प्रमाणित गर्न पुरुषले भन्दा दुईगुना बढि मिहेनत काम गर्नुपर्ने अवस्था भने यद्यपी कायम रहेको उनले महसुस गरेकी रहिछन्। जस्तो कि स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृत भन्दा पुरुष नै चाहिन्छ भन्ने मानसिकता अझै पनि छ। महिलासँग क्षमता र अनुभव जति भएतापनि यस किसिमका पद र जिम्मेवारीको लागि सहज रुपमा स्वीकार नगर्ने परम्परा र संस्कारको हाबी छ । कर्मक्षेत्रमा यस्तो कुरा देख्दा र भोग्नुपर्दा भने आफूलाई दुःख लाग्ने उनले बताइन्।उनी भन्छिन् ‘मेरो पुस्ता छोराछोरीमा विभेद नगरी शिक्षामा समान अवसर दिनुपर्छ भनेर सिक्दै, सिकाउदै हुर्केको पुस्ता हो। हाम्रो बाबु आमाको पुस्ताले छोराछोरी नभनी समान लगानी गर्यो। अहिलेको समयमा आएर यसरी कार्य स्थलमा विभेद देख्दा, निर्णायक तह र नेतृत्वदायी भूमिकामा महिलाले आफूलाई पुष्टि गरिरहनु पर्दा दुःख लाग्छ।’’
साथीभाईकै प्रभावका कारण निजामति सेवामा प्रवेश गरेको मान्ने उनी सरकारी क्षेत्र र अन्य क्षेत्रको तुलना हुँदैन भनेर साथीभाइले लोकसेवा तयारीका लागि प्रेरित गरेकै कारण आज आफू यहाँसम्म आउन सफल भएको मान्छिन् । साथै यो क्षेत्रमा थुप्रै अवसर रहेको र सबै काम जनता केन्द्रित हुने भएकोले राम्रोसँग काम गर्न सके समाज र जनताको लागि केही न केही योगदान गर्न सकिने हुँदा अहिले उनलाई सबैभन्दा राम्रो फराकिलो स्कोप भएको प्रोफेसन यहि लाग्ने गरेको बताउछिन् । यसरी निजामती सेवामा करिब एक दशक देखि अधिकृतको रुपमा सेवा गर्दै आएकी उनी इच्छाकामना गाउँपालिकाबाट निजामति सेवा तर्फ सबैभन्दा उच्च तहमा पुग्ने पहिलो महिला हुन् । यहि योगदानको उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रकै पहिलो डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा उनलाई इच्छाकामना न्युज सम्मान–२०८१ बाट सम्मानित गर्न लागिएको हो ।