Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गाउँ फर्केर इँटा उद्योग चलाइरहेका इञ्जिनिर प्रमोद

गाउँ फर्केर इँटा उद्योग चलाइरहेका इञ्जिनिर प्रमोद

रासस

७, माघ २०८१
गाउँ फर्केर इँटा उद्योग चलाइरहेका इञ्जिनिर प्रमोद
images

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए ।

images
images

“पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उनले भने,“अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजारभन्दा बढी इँटा प्रयोग भइसकेको छ । उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको छ । नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ । कच्चापदार्थ महँगो छ । सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ । महिनामा त्यस्तै एक लाखजति बचत छ ।”

ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए । उनले भने “यी सामग्री काठमाडौँँ, दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साइजर चैँ उडिसाबाट ल्याउने गरिएको छ ।”

उद्योगको उत्पादनले इँटाको माग धान्न सकेको छैन । सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माग हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माग पूरा गर्न नसकिएको स्वस्तिका सापकोटाले बताइन् । ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माग बढिरहेको उनको भनाइ छ । उनले भनिन्, “पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ । त्यसमा हाम्रो उत्पादन प्रयोग गर्नेगरी छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ ।”

सापकोटा दम्पतिलाई घर–गाउँ छोडेर विदेशिन मन छैन । “जे गर्छु नेपालमै गर्छु, जति गर्छु नेपालीकै लागि गर्छु भन्ने लाग्छ ।” प्रमोदले भने, “आजभन्दा ६ वर्षअघि रु १५ लाख लगाएर उद्योग खोल्ने मेरो एउटा साहास नै थियो । त्यो बेला अमेरिका, अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक–दुई करोड कमाइ त हुन्थ्यो होला । तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा महँगो लाग्यो । हामी यहीँ खुसी छौँ ।”

कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ । उनले भने ,“महामारीमा उद्योग ठप्प भयो । भर्खर सुरु भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो । पुनः स्थिति सुधार भयो । अब त डर छैन ।”

स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए । अनुदानमा सहुलियत दिएर युवालाई स्वरोजगार बन्न प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उद्योगमा ईको इँटा मात्र होइन, कङ्क्रिट इँटा, कबर ब्लक, फुलको गमला, तुलसीको मोठ, तारजाली पिल्लरसमेत उत्पादन हुने गरेको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०८:४२:०१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology