Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कृत्रिम तालबाट एकै दिन दुई लाखको माछा बिक्री

कृत्रिम तालबाट एकै दिन दुई लाखको माछा बिक्री

इच्छाकामना न्युज

२०, मंसिर २०८२
कृत्रिम तालबाट एकै दिन दुई लाखको माछा बिक्री
images

दाङ  । दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित कृत्रिम जलाशय अहिले स्थानीयको प्रमुख आम्दानीको स्रोत बनेको छ । 

images
images

घोराही–१७, गुलरिया र घोराही–१६ को सिमानामा बनेको यो जलाशयबाट स्थानीयले एकै दिनमा दुई लाख रुपियाँभन्दा बढी मूल्य बराबरको माछा बिक्री गरेको गुलरिया मघै खेलकुद तथा जलाशय समितिका कोषाध्यक्ष राजेश चौधरीले जानकारी दिनुभयो ।

समिति अन्तर्गत घोराही–१७, गुलरिया र घोराही–१६, मघैगाउँका १७८ घरधुरीको सदस्यता रहेको छ । समितिले केही वर्षअघि प्रत्येक घरधुरीबाट पाँच सय रुपियाँका दरले उठाएर जलाशयमा माछाका भुरा हालेको थियो । त्यही सामूहिक लगानी अहिले गाउँकै ठुलो आर्थिक स्रोत बन्न पुगेको हो । 

चौधरीका अनुसार जलाशयबाट पहिलो दिन निकालिएको ८९० किलो माछा १७८ घरधुरीलाई पाँच÷पाँच किलोका दरले वितरण गरिएको थियो । त्यसपछि नियमित रूपमा माछा निकालेर सहुलियत मूल्यमा बिक्री गरिएको हो । “ठुला माछा प्रतिकिलो तीन सय र साना माछा ३५० रुपियाँमा बेचिरहेका छौँ,” उहाँले भन्नुभयो, “अहिलेसम्म भेटिएका माछामध्येको सबैभन्दा ठुलो करिब साढे तीन किलोको पनि छ ।”

उहाँले गत वैशाखमा एक लाख रुपियाँभन्दा बढीको माछा बेचेकोमा यस पटक झन्डै दुई लाख ५० हजारको माछा बेचिसकेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० क्विन्टल माछा निकालिएको छ । शनिबार पनि माछा निकालेर बेच्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

माछा बिक्रीबाट आएको आम्दानीलाई पुनः जलाशयकै संरक्षण तथा प्रवर्धनमा लगानी गर्ने तयारी भइरहेको समितिले जनाएको छ । उहाँले नयाँ माछाका भुरा हाल्ने, जलाशयको संरक्षण गर्ने र भविष्यमा उत्पादन क्षमता बढाउने योजनासमेत अघि सारिएको बताउनुभयो । जलाशयले आर्थिक आम्दानी मात्रै बढाएको छैन, स्थानीय कृषकको खेतीपातीमा समेत नयाँ जीवन भरिदिएको छ । पानीको अभावले बर्सौंदेखि समस्यामा परेका किसानका लागि यो जलाशय सिँचाइको भरपर्दो स्रोत बनेको छ ।

“जलाशय निर्माण भएपछि सिँचाइका लागि धेरै सहज भएको छ,” स्थानीय नगेन्द्र चौधरीले भन्नुभयो, “जलाशयको सिँचाइले स्थानीयले तरकारी उत्पादन गरेर मनग्गे आम्दानी लिइरहेका छन् ।” कृषिका लागि मात्र नभई पशुपालनमा पनि जलाशय उपयोगी बनेको छ । “गाईभैँसीलाई पानी खुवाउन सजिलो भएको छ,” उहाँले भन्नुभयो, “बर्खायाममा भएको सिञ्चित पानीले हिउँददेखि गर्मीयाममा खेतीपाती गर्न पनि सहज भएको छ ।”

घोराही उपमहानगरपालिकाले जलाशय निर्माण गरिदिएपछि जलाशयलाई गाउँलेले साझा सम्पत्ति र भविष्यको मुख्य आधार मान्न थालेका छन् । करिब दुई बिघामा फैलिएको जलाशयको माछा बिक्रीबाट आम्दानी, सिँचाइको सुविधा, तरकारी उत्पादनमा वृद्धि र पशुपालनमा सहजताले स्थानीयको जीवनशैली नै फेरिएको छ । घोराही उपमहानगरपालिकाले गुलरियाको जलाशयसँगै पालिकाभित्र ४३ वटा कृत्रिम जलाशय निर्माण गरेपछि स्थानीय किसानलाई सिँचाइको लागि सहज भएको छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - १०:०२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology