कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा संचालित इच्छाकामना आधारभुत अस्पतालमा अब स्वास्थ्य बिमा लागु हुने भएको छ । अस्पतालमा स्वास्थ्य बिमा लागु गराउन स्वास्थ्य बिमा बोर्ड र अस्पतालका प्रतिनिधि बिच काठमाण्डौमा आज सम्झौता भएको छ ।
बिमा लागु गराउन दुवै पक्षबीच सम्झौता भएसँगै इच्छाकामना आधारभुत अस्पतालमा पनि अब स्वास्थ्य बिमाको सुविधा हुने भएको हो । सम्झौतामा स्वास्थ्य बिमा बोर्डको तर्फबाट बिमाका निमित्त निर्देशक डा. सरोज शर्मा र इच्छाकामना आधारभुत अस्पतालको तर्फबाट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगम न्यौपनेले हस्ताक्षर गरेका छन् ।
दुवै पक्ष बिच सम्झौता भएसँगै आगामी २०८२ को वैशाख १ गते नयाँ वर्षको दिनदेखि अस्पतालमा बिमा सुविधा लागु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । साथै अस्पतालमा बिमा लागु भएपछि स्थानीय जनताले स्वास्थ्य उपचार खर्चमा सहजै राहत पाउने उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सम्झौता बारे प्रतिक्रिया दिदै विगत डेढ वर्षदेखि अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गराउन गरेको आफुहरुको प्रयासले सार्थकता पाएको बताउनुभयो । उहाँले बिमा कार्यक्रम लागु हुदाँ पालिकाका स्थानीय नागरिकहरुले घरदैलोमै हुने स्वास्थ्य उपचार खर्चमा थप राहत महशुस गर्न पाईने बताउनुभयो ।
हाल कुरिनटार स्थित गाउँपालिका हाताभित्रै तात्कालिन दारेचोक स्वास्थ्य चौकीको भवनबाट सेवा दिईरहेको इच्छाकामना आधारभुत अस्पताल देखि १५ बेडको अस्पतालको रुपमा संचालनमा आईरहेको छ ।


