Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

इच्छाकामना न्युज

२०, चैत्र २०८१
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा
images

काठमाडौँ । तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।

images
images

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताउनुभयो । “आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने गरी छलफल भइरहेको छ”, जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहनुभएका उहाँले भन्नुभयो, “नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।”

संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिब्रता पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताउनुभयो । “पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

जनमत पार्टीका प्रवक्ता डा शरद् सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । “पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो, “केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ ।”

प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् । “ हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ”, कार्यदल सदस्यसमेत रहनुभएका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भन्नुभयो ।

जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य हुनुहुन्छ ।

पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताउनुभयो ।

विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ हुनुहुन्छ । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - ०८:१८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology