आँबुखैरेनी, १३ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १, २ र ६ जोड्ने गिराउन चौर–गाउँकोट–हिलेखर्क सडकको स्तर उन्नति कार्य अब स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा श्रमदानमार्फत सुरु गरिएको छ।
यस कार्यको मुख्य उद्देश्य वर्षायाममा हिलो र खराब अवस्थामा रहने सडकलाई सुधार गरेर सहज आवागमन सुनिश्चित गर्नु हो। स्थानीय बासिन्दा, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा चलिरहेको यो अभियानले गाउँबीचको यातायातलाई सहज बनाउने, कृषिजन्य उत्पादनलाई बजारमा पुर्याउन मद्दत गर्ने र समग्र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यमा सबैको सक्रिय सहयोगको आवश्यकता रहेको बताउँदै, "यस सडक सुधार कार्यले स्थानीय बासिन्दाहरूको जीवनस्तरलाई उच्च बनाउने र समग्र विकासमा योगदान पुर्याउनेछ।" उनले थपे, "पालिकाले दीर्घकालीन रूपमा यो अभियानलाई व्यवस्थित र निरन्तरता दिने योजना बनाएको छ।"
यस सडक स्तरोन्नति कार्यको लागि पालिका सरकारले प्राविधिक सहयोग प्रदान गर्दै जनश्रमको आधारमा काम अघि बढाएको छ, जसले स्थानिय नागरिकको सहभागितालाई अझ मजबुत बनाएको छ।