आँबुखैरेनी , १९ जेष्ठ । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा गाडापानी क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
अध्यक्ष चुमानले आइतबार आँबुखैरेनी गाउँपालिका-३, स्थित गाडापानी क्षेत्रको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सार्वजनिक सम्पदाहरूको स्थलगत अवलोकन गर्नुभएको हो ।
स्थानीय टोल सुधार समिति, समाजसेवीहरू, स्थानीय प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको उक्त अवलोकन कार्यक्रममा गाडापानी क्षेत्रमा रहेका कुवा, धारा, पौवा, पाटी लगायतका सम्पदाहरूको अवस्था निरीक्षण गरिएको थियो। गाडापानी क्षेत्रका यस्ता सम्पदाहरू सामाजिक तथा सांस्कृतिक मूल्य बोकेका हुनाका साथै ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण रहेको जनाइएको छ।
अवलोकनका क्रममा अध्यक्ष चुमानले यस्ता अमूल्य सम्पदाहरूको संरक्षण, सम्बर्द्धन तथा पुस्तान्तरण वर्तमान पुस्ताको जिम्मेवारी रहेको उल्लेख गर्दै गाउँपालिकाले स्थानीय सरोकारवाला पक्षहरूसँग सहकार्य गर्दै संरक्षण कार्यमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीय बासिन्दाहरूले गाउँपालिकाको यस्तो पहललाई स्वागत गर्दै सम्पदाको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।