आँबुखैरेनी, २४ जेष्ठ । भूमि समस्या समाधान आयोग जिल्ला समिति तनहुँको आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको सहजीकरणमा शनिबार एक दिवसीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित कार्यक्रममा आयोगका जिल्ला संयोजक गोविन्दराज सिलवाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा आयोगका जिल्ला समिति सदस्य तथा विज्ञ श्रीराम कार्की, महिला सदस्य आशा थापा, सदस्य रामचन्द्र उपाध्याय, र सदस्य–सचिव विजयकुमार सिंह अतिथि रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले प्रस्तुत गरेका थिए। भूमि सम्बन्धी ऐन, नियम तथा कार्यप्रणालीका विषयमा जिल्ला नापी कार्यालयका प्रमुख समेत रहेका सचिव विजयकुमार सिंहले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा पालिका स्तरीय सहजीकरण समितिका सदस्यहरू, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा नापी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले आयोगको उद्देश्य, कार्यपद्धति र स्थानीय तहसँगको सहकार्यका सम्भावनाबारे प्रकाश पार्दै भूमिहिन सुकुम्बासीको समस्या समाधानमा स्थानीय तहको भूमिका अपरिहार्य रहेको बताए।
गाउँपालिकाका अनुसार दोस्रो चरणका लागि ४६ जना भूमिहिन सुकुम्बासीको नाम प्रमाणीकरण गरी आयोगमा पठाइसकिएको छ भने हालसम्म १३ जनालाई जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिइएको छ। बाँकी भूमिहिन परिवारहरूलाई प्रमाणिकरण प्रक्रिया अघि बढाउँदै पुर्जा वितरणको कार्यलाई थप तीव्रता दिने गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।