आँबुखैरेनी । चितवनको भरतपुर महानगरपालिका वडा नं–२९ र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं–५ सँग जोडिएको झोलुङ्गे पुलको मर्मत कार्य सुरू भएको छ ।
२०८१ सालको असोज १२ गतेको भीषण बाढीले क्षति पुर्याएको पुल करिब आठ महिनापछि बल्ल मर्मत गर्न थालिएको हो । आँबुखैरेनी गाउँपालिका वडा नं–५ का अध्यक्ष सन्तोष गुरूङका अनुसार उक्त पुलको सामान्य मर्मत दुईपटकसम्म गरिएको थियो । तर, सामान्य मर्मतले नहुँदा दक्ष प्राविधिकबाटै मर्मत गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको उनले बताए ।
‘पालिकाको बजेटले पनि नभेट्ने हुँदा प्रदेश सरकारसँग ताकेता गर्दा ढिलाइ भयो’, अध्यक्ष गुरूङले भने, ‘लामो समयसम्मको सङ्घर्षपछि बल्ल पुलको मर्मत हुन थालेको छ ।’ बाढीले क्षति पु¥याएपछि तत्कालीन अवस्थामा पनि आँबुखैरेनी गाउँपालिकाले सामान्य मर्मत गरेको थियो । हिँड्नै नमिल्ने अवस्थामा रहेको पुललाई मर्मत गरेर काम चलाउ बनाए पनि दिगो समाधान नहुने भएपछि प्राविधिकको टोलीबाटै मर्मत गर्नुपर्ने देखिएको उनले बताए । उनका अनुसार यही हप्ता थालिएको मर्मत कार्य अझै दस दिनजति लाग्ने सम्भावना छ । अहिले पुलको सबै संरचना खोलिएको छ ।
‘प्राविधिकहरुले काम गरिरहनुभएको छ, अझै दस दिनजति लाग्छ होला’, अध्यक्ष गुरूङले भने । गण्डकी प्रदेशबाट बजेट माग गरेर पुलको मर्मत कार्य थालेको उनले बताए । ‘बजेट माग्न भरतपुर महानगरपालिकासँग पनि अनुरोध ग¥यौँ, तर पाउन सकेनौँ’, उनले भने, ‘प्रदेशमा धाउँदा धाउँदा बल्लबल्ल पाँच लाख रूपैयाँ बजेट परेपछि काम थालेका हाँै ।’ प्राविधिकका अनुसार उक्त पुल मर्मतका लागि पाँच लाख रूपैयाँ नपुग्ने भएपछि प्रदेशसँग थप बजेट माग गरिएको उनले बताए ।
देवघाटवासीमा खुसी भूगोलको दृष्टिमा भरतपुर महानगरपालिका र आँबुखैरेनी गाउँपालिकासँग सिमाना जोडिए पनि घुमाउनेको पुलको प्रयोगकर्ता भने बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकावासीले गर्ने गरेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं–५ का बासिन्दाले भने आंशिकरुपमा मात्रै यो पुलको प्रयोग गर्ने गरेका छन् । तसर्थ, आफ्ना पालिकावासीले प्रयोग गर्ने पुल नै जीर्ण बनेपछि देवघाट गाउँपालिकाले पनि पुल मर्मतको काममा भरमग्दुर प्रयास गर्दै आएको थियो । ‘भूगोल देवघाटमा नपरे पनि प्रयोगकर्ता अधिकांश देवघाटकै छन् । त्यसकारण समस्या देवघाटवासीलाई थियो’, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले भने, ‘पुलको मर्मत सुरू भएपछि यसले ढिलै भए पनि देवघाटवासीलाई खुसी दिलाएको छ ।’ देवघाट गाउँपालिकाको वडा नं–३ र ४ का जनताहरुलाई पालिकासम्म आउने मुख्य बाटो नै यही भएकोले पुल बिग्रिँदा देवघाटवासीमा निराशा छाएको थियो ।
पछिल्लो समय नारायणगढबाट दमौली जानका लागि छोटो बाटो भएकोले पनि घुमाउनेको पुलको प्रयोगकर्तासमेत बढेका छन् । तर, झोलुङ्गे पुल जीर्ण भएपछि दुईपाङ्ग्रे सवारीसाधन प्रयोगकर्तालाई पनि समस्या परेको आँबुखैरेनी गाउँपालिका वडा नं–५ का अध्यक्ष गुरूङले बताए । बाढीले पुलमा ठूलो असर पारेपछि स्थानीय बाँस र फलामको पाइप बाँधेर त्यसैको भरमा आउजाउ गर्न बाध्य थिए । जोखिम मोलेरै यात्रा गर्नुपर्दा दुर्घटनाको जोखिमसमेत उत्तिकै बढेको थियो । अहिले पुल मर्मतको काम भइरहेको हुँदा उक्त बाटोको प्रयोग रोकिएको छ ।
पक्की पुल अलपत्र झोलुङ्गे पुलभन्दा उत्तरतर्फ पक्की पुल निर्माण थालनी भएको दशक बितिसक्यो । तर, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । पक्की पुलको काम नै रोकिएको हुँदा राज्यको सम्पत्ति खेर गइरहेको उनले बताए । ‘पक्की पुल बनिसकेको भए झोलुङ्गे पुलको आवश्यकता नै सकिन्थ्यो’, उनले भने, ‘पक्की पुल नै अलपत्र परेपछि झोलुङ्गे पुलको विकल्प नै रहेन ।’ उनका अनुसार ठेकेदारले काम नगरेपछि सरकारले उक्त पुल निर्माणको ठेक्का नै रद्द गरिदिएको छ ।