इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई लक्षित गर्दै चिउरी र चमेरो संरक्षण कार्यक्रम अन्तर्गत आधुनिक मौरी घार वितरण गरेको छ। गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी १५४ वटा आधुनिक मौरी घार निशुल्क रूपमा वितरण गरेको हो।
कार्यक्रमको उद्देश्य चेपाङ समुदायको आर्थिक सशक्तिकरण, स्थानीय स्रोत साधनको संरक्षण, तथा दिगो आम्दानीको सिर्जना रहेको बताइएको छ। सो अवसरमा चिउरीका बिरुवाहरू समेत वितरण गरिएका थिए।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “चेपाङ समुदायको जीवनस्तर उठाउने उद्देश्यका साथ हामीले चिउरी र मौरीपालन कार्यक्रम अघि सारेका हौं। यो कार्यक्रमले उनीहरूको आम्दानी वृद्धि गर्न सघाउनेछ।”
गाउँपालिकाले आगामी दिनमा मौरीपालन तथा चिउरी खेतीसम्बन्धी तालीम, प्राविधिक सहयोग, र बजार पहुँच विस्तारमा समेत सहयोग गर्ने जनाएको छ।
स्थानीय बासिन्दाले यो पहलप्रति खुशी व्यक्त गर्दै दीर्घकालीन रूपमा आफूहरूको जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।