इच्छाकामना । इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०७८/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ। सो अवसरमा गाउँपालिकाले गत आर्थिक वर्षका योजना तथा कार्यक्रमहरू पूर्णरूपमा सफल भएको दाबी गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार इच्छाकामना गाउँपालिकाले पुँजिगत खर्चमा चितवन जिल्लाभित्र उत्कृष्ट स्थान हासिल गरेको छ। पुँजिगत खर्चतर्फ ८७ प्रतिशतभन्दा बढी खर्च गरेको र चालू खर्चमा पनि ८४ प्रतिशतभन्दा बढी खर्च गरेको उल्लेख गर्दै उनले गाउँपालिकाले तीन वटा ऐन र सात वटा कार्यविधि बनाएर तिनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सफल भएको बताए।
गत आर्थिक वर्षमा ग्रामीण विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिसँग जोडिएको किसानलक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको उनले जानकारी गराए। वर्षभरि भएका ३८५ वटा योजनाको भुक्तानी भइसकेको र प्रक्रियामा रहेका दुईवटा योजना बाहेक सबैको भुक्तानी सकिएको पनि उनले बताए।
कार्यवाहक अध्यक्ष माया सिलवालले गाउँपालिकाले ग्रामीण भेगमा खेतीपाती गरी जीवनयापन गर्ने नागरिकहरूलाई आयआर्जनको बाटोमा अघि बढाउन निरन्तर काम गरिरहेको र गाउँ खाली हुन नदिन कृषिमा जोड दिइरहेको बताइन्। शिक्षा, स्वास्थ्य, सामाजिक विकास र भौतिक पूर्वाधार विकासमा समेत काम भइरहेको उल्लेख गरिन्।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले इच्छाकामना गाउँपालिकाको प्रगतिले गाउँवासीमा खुसीयाली फैलिएको र कृषि विकासले पहाडी क्षेत्रका नागरिकलाई गाउँ छाड्नबाट रोक्ने प्रयास सह्राहनीय भएको बताए। साथै, सुन्तला प्रजातिका बिरुवा अनुदान, कृषि एम्बुलेन्स र बाख्राको खोर निर्माण जस्ता कार्यक्रमले पनि गाउँपालिकामा विशेष स्थान पाएको जानकारी दिए।
तर, सार्वजनिक सुनुवाइमा सहभागीहरूले केही कमीकमजोरी र सुधार आवश्यकतामा पनि सुझाव दिएका थिए। स्थानीय मोदराज सिलवालले गाउँ छाड्ने क्रम रोक्न अनुदान कार्यक्रमको समीक्षा आवश्यक रहेको बताए। दलित मुक्ति समाज इच्छाकामनाका अध्यक्ष चन्द्रबहादुर परियारले दलित, भूमिहीन र सुकुम्बासीका मुद्धामा गाउँपालिकाले पर्याप्त ध्यान नदिएको आरोप लगाए।
नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष रामहरि कँडेलले हाल स्थानीय व्यवसाय बन्द हुने अवस्थामा आइपुगेको भन्दै सुरक्षा र संरक्षणमा सरकारहरूको भूमिका आवश्यक रहेको बताए। नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले जनप्रतिनिधिहरूले जनताको मागमा कम ध्यान दिएको भन्दै सुधार गर्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनमा जनप्रतिनिधिहरूको चासो आवश्यक रहेको बताए।
सुनुवाइमा आएका प्रश्न र सुझावहरूमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जवाफ दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सबै सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा गाउँपालिकालाई सुशासनयुक्त स्थानीय सरकारका रूपमा विकास गरिने बताए। उनले कतिपय टिप्पणीहरू आधारहीन भएको र भ्रममा नपर्न सबैलाई आग्रह गरे।