गोरखा । सहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यमा शुक्रबार पालिकाको बहुउद्देश्यीय सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शिक्षा समिति तथा गाउँसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, शाखा प्रमुख तथा कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।
समीक्षा कार्यक्रममा गाउँपालिकाका सबै वडाहरूले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै, मनकामना आयुर्वेदका प्रमुखसहित विभिन्न शाखाका प्रमुखहरूले आफ्नो कार्यसम्पादन प्रतिवेदन मार्फत समग्र विकासको तस्वीर स्पष्ट पारे। रिपोर्टअनुसार वडा नम्बर ३ मनकामनाले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ।
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले प्रस्तुत प्रतिवेदनहरूमा आधारित रहेर महत्वपूर्ण सुझाव, टिप्पणी र प्रतिक्रियाहरू व्यक्त गरे। यस क्रममा अध्यक्ष थापा मगरले विगत वर्षका उपलब्धि र चुनौतीहरूको गहिरो विश्लेषण गर्दै भन्नुभयो, “यो समीक्षा केवल औपचारिकता नभई सुशासन र जनउत्तरदायित्वतर्फको हाम्रो गम्भीर प्रतिबद्धताको प्रमाण हो।"
उहाँले आगामी वर्षको योजना अझ प्रभावकारी, पारदर्शी र जनमुखी हुने स्पष्ट गर्दै सबै सरोकारवालाको सक्रिय सहकार्यले गाउँपालिकालाई थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले नीति निर्माण, योजना तर्जुमा, पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। समग्रमा, समीक्षा कार्यक्रमले विगत कार्यहरूको मूल्याङ्कन गर्दै आगामी कार्यदिशालाई अझ स्पष्ट, उद्देश्यमुखी र परिणाममुखी बनाउने दिशामा टेवा पुर्याएको छ।