चितवन, २५ श्रावण । चितवन प्रहरीले सार्वजनिक बिदाका दिन बिना अनुमति सञ्चालन गरिएका ४० वटा सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
शनिवार र आइतबार सार्वजनिक बिदा भएको अवस्थामा सरकारी गाडी चलाउन सम्बन्धित प्रशासन कार्यालयको पूर्वस्वीकृति आवश्यक हुने प्रावधान विपरीत सञ्चालन भएकाले ती गाडी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो।
पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवाखोला र नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनदेखि जुगेडीसम्मको क्षेत्रमा प्रहरीद्वारा चेकजाँच अभियान सञ्चालन गरिएको थियो। गाडीहरूको कागजात जाँच गर्दा अनुमति बिना चलाइएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो।
सबैभन्दा धेरै गाडीहरू गोरखा र तनहुँ जिल्लाका सरकारी कार्यालयहरूसँग सम्बन्धित रहेका छन्। प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका सवारीसाधनहरू सम्बन्धित प्रशासन कार्यालयको पास पेश गरेपछि मात्र छोडिएको हो।
सरकारी सवारीसाधनको दुरुपयोग रोक्न सुरु गरिएको अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सिंहले बताउनुभयो।
यसका साथै, ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई पनि नियमित कारबाही जारी राखिएको छ। राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विभिन्न सचेतना कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिइएको छ।