आँबुखैरेनी । देशभर जारी निषेधाज्ञा तथा कर्फ्यूको क्रमलाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा साप्ताहिक हाटबजार बन्द गरिएका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौँबाट जारी गरिएको विज्ञप्ति नं. १३ अनुसार यस्तो निर्णय लिइएको हो।
गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा भनिएको छ कि अर्को सूचना जारी नभएसम्मका लागि यी सम्पूर्ण सेवा तथा गतिविधिहरु बन्द रहनेछन्। यद्यपि, अत्यावश्यक सेवाहरू जस्तै स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा भने नियमित सञ्चालनमा रहने जनाइएको छ।
विज्ञप्तिमा निषेधाज्ञा अवधिभर सर्वसाधारणलाई घरमै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन, अत्यावश्यक काम परेमा नजिकैका सुरक्षा कर्मीसँग समन्वय गर्न र अफवाहको पछाडि नलाग्न अनुरोध गरिएको छ। साथै, आधिकारिक सूचनाहरूमात्र विश्वास गर्न र राष्ट्रिय सद्भाव कायम राख्न अपील गरिएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले सुरक्षा निकायसँग सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन्। निषेधाज्ञा थप हुने स्थिति आएमा त्यससम्बन्धी जानकारी समयमै दिने उल्लेख गरिएको छ।