कुरिनटार । यहि भदौ २३ र २४ गते जेएनजीको नाममा भएको आन्दोलनमा आन्दोलनकारीले आगजनी र तोडफोड गर्दा चितवनको इच्छाकामना गाउँपालिकामा पनि ठुलो क्षति पुगेको छ । गाउँपालिकाले शुक्रबार गरेको अनुगमनको क्रममा करिब ५ करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरेको हो ।

गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ चढ्ने स्कोरपियो गाडी, उपाध्यक्ष माया सिलवाल चढ्ने महिन्द्रा बलेरो गाडी र चालु हालतमा नरहेको मारुती गाडी गरी ३ थान गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ३ वटा मोटरसाईकल समेत जलेर नष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका प्राङ्गणमा नै रहेको १ थान जेसिबी र १ थान टिप्पर गाडीमा समेत क्षति पुगेको छ ।

यस्तै गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको सबै झ्यालको सिसा फुटाउनुका साथै हरेक शाखाको फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत जिन्सि सामाग्रीको तोडफोड र कागजपत्रहरु जलाएर नष्ट पारिदिएको छ भने वडा नं. ४ को कार्यालयको माथिल्लो तलामा रहेको कृषि र पशुशाखाका सम्पूर्ण सामाग्री, कागजपत्र, प्रयोगशालाको मेसिनहरु समेत कामै नलाग्ने गरी तोडफोड र जलाईदिएका छन् ।
२ वडा वडाकार्यालयमा क्षति
यसैगरी इच्छाकामना गाउँपालिकाको ७ वटा वडाहरु मध्य २ वटा वडामा ठूलो क्षति पु¥याएको छ । गाउँपालिकासँगै रहेको वडा नं. ४ को कार्यालयको भित्रि भागमा क्षति नपु¥याए पनि झ्यालहरुमा क्षति पुगेको छ भने वडा कार्यालयको माथिल्लो दुई तलामा पूर्ण क्षति पु¥याएको छ ।

यस्तै हपनीमा रहेको वडा नं. २ को कार्यालयमा झण्डै करोड भन्दा बढि क्षति पु¥याएको छ । हाल रहेको वडा कार्यालय भित्रै आगजनी गरिदिएका कारण कार्यालय भित्र रहेको सम्पूर्ण जिन्सि सामान र कागजपत्र पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सँगै बनाएको उद्घाटन गर्न बाँकी रहेको नवनिर्मित कार्यालय भवनमा समेत आगो लगाई तोडफोड गरेको क्षति पुगेको छ ।

कर्मचारीमाथि कुटपिट
आन्दोलनकारीले कार्यालय तोडफोडको क्रममा एकजना कर्मचारीलाई समेत कुटपिट गरेको छ । कार्यालयको आईटी शाखामा कार्यरत शाखा प्रमुख श्रीराम त्रिपाठीलाई आन्दोलनकारीले कुटपिट गरेको हो । कुटपिटबाट त्रिपाठीको टाउँकोमा चोट लागेको छ ।
तत्काल सेवा सूचारु गर्न नसकिने
जेनजीको नाममा अराजक समूहले मच्चाएको विध्वंसबाट भएको क्षतिले तत्काल कार्यालयको सेवा सूचारु गर्न नसकिने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले दशैं अघि कार्यालयको सेवा सूचारु गर्न सकिने अवस्था नरहेको बताउनुभयो । ‘कार्यालयका सबै कम्प्युटर, प्रिन्टर, फर्निचर, कागजपत्र जलेर नष्ट भएका छन् भने भवनलाई पूर्ण मर्मत नगरी सेवा दिन सक्ने अवस्था छैन, यसैले सेवा सूचारु गर्न कम्तीमा पनि महिना दिन भन्दा बढि लाग्ने देखिन्छ ।’ –उहाँले भन्नुभयो । यद्यपी सकेसम्म छिटो भन्दा छिटो कार्यालयको सेवा सूचारु गर्ने गरी शुक्रबार देखि नै काम थालिएको उहाँले बताउनुभयो ।

जेनजीको नाममा अराजकहरुको हर्कत
यसैबिच जेनजीको नाममा अराजकहरुले गलत हर्कत गरेर जनताको घरआगनको सिंहदरबारको रुपमा रहेको गाउँपालिका भवन र वडा कार्यालय तोडफोड आगजनी गर्ने काम भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । ‘यो जेनजीको नाममा अराजकहरुले गरेको अक्षम्य अपराध हो, इतिहासले माफ गर्ने छैन ।’ –उहाँले भन्नुभयो । इच्छाकामनाको जनताको सार्वजनिक सम्पत्ति माथि यो खालको विध्वंश गर्ने इच्छाकामना कै केही आपराधिक मनोवृत्ति भएका व्यक्तिहरु रहेको र जनताले तीनीहरुलाई राम्रोसँग चिनेको बताउनुभयो । साथै भोलीको दिनमा उनीहरुलाइ जनताले नै सजाय दिने बताउनुभयो ।





