आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित श्री सिद्धि गणेश टोलको पुरानो बसपार्क क्षेत्रमा आजदेखि ‘सोमबारे हाटबजार’ सञ्चालनमा आएको छ। कृषक र उपभोक्तालाई लक्षित गर्दै गाउँपालिकाले आँबुखैरेनी बजार क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत नयाँ हाटबजार सुरु गरेको हो।
सोमबारे हाटबजारको उद्घाटन गाउँपालिका अध्यक्ष शुक्र चुमानले एक समारोहका बीच गर्नुभएको हो। उद्घाटन कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, सहायक प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारी, वडा नं. १ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रेमबहादुर तमु, वडा नं. २ का अध्यक्ष आशबहादुर गुरुङ, वडा नं. ४ का अध्यक्ष मिलन भुजेल, वडा नं. १ का सदस्य मनोज कुमार श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेकप्रसाद सुवेदी लगायतको उपस्थिति थियो।
गाउँपालिकाले शुक्रबार सञ्चालन हुँदै आएको नियमित हाटबजारसँगै अब सोमबार पनि हाटबजार सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने र कृषकलाई आफ्ना उपज सहजै बिक्री गर्न सक्ने वातावरण बनाउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चुमानले कृषि नै हाम्रो जीवनको आधार भएको उल्लेख गर्दै भने, “संसार ध्वस्त भए पनि कृषिमा आश्रित व्यक्ति कहिल्यै संकटमा पर्दैन।” उहाँले सोमबारे हाटबजार सञ्चालनको उद्देश्य स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै उपभोक्तालाई सस्तो मूल्यमा कृषि उपज उपलब्ध गराउनु रहेको स्पष्ट पार्नुभयो।