Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

रासस

२०, कार्तिक २०८२
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी। मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ।

images

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।

पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए।

“गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ।”

ताराखोला गाउँपालिकाको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो।

स्थानीयले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन्। अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो। तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब रु तीन लाख सङ्कलन भएको थियो।

गण्डकी प्रदेश सरकारको रु ७५ लाख र तालाखोला गाउँपालिकाको रु १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ। सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ।

यसैगरी, मङ्गला गाउँपालिका–५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ।

समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।

तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - ०९:२९:३६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology