मुग्लिन । संसद पुनःस्थापनाको माग गर्दै देशैभरका ७५३ वटा स्थानीय तहमा जनप्रदर्शन गर्ने नेकपा एमालेको अभियान अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा पनि एमालेले बृहत प्रदर्शनका साथै मोटरसाइकल र्यालीको आयोजना गरेको छ । प्रतिगमनविरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रमस्वरुप राष्ट्रिय अभियान अन्तर्गत एमाले इच्छाकामना गाउँकमिटिको संयोजनमा आज इच्छाकामना ५ को शान्तिबजारदेखि वडा नं. ३ को फिस्लिङ बजारसम्म र्याली तथा प्रदर्शन गरेको हो ।

जनप्रदर्शनमा हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको आपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौँ, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, प्रतिनिधिसभा पुनः स्थापना गर लगायतका नारा प्रदर्शनका क्रममा माइकिङ गरेर लगाइएको थियो ।

यस्तै करिब १ सय वटा मोटरसाईकल सहित गरिएको र्याली पश्चात मुग्लिन बजार चोक, फिस्लिङ चोक र अन्त्यमा कुरिनटारमा कोणसभा गरिएको थियो । कोेणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य शिवकुमारी गोतामे, बागमती प्रदेश कमिटि सदस्य एवं प्रदेश सांसद कृष्णप्रसाद सिलवाल, एमाले चितवनका जिल्ला कमिटि सदस्य एवं इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, जिल्ला कमिटि सदस्य जुना राजभण्डारी लगायतले सम्बोन्धन गरिएको नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
