Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुल्मीमा धान उत्पादनमा गिरावट

गुल्मीमा धान उत्पादनमा गिरावट

images

पत्रपत्रिका

१४, मंसिर २०८२
गुल्मीमा धान उत्पादनमा गिरावट
images

रमेश विश्वकर्मा, गुल्मी । गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो । यस जिल्लामा प्रत्येक वर्ष धानको उत्पादन र क्षेत्रफल घट्दै गएको छ। सुरुमा खडेरी, फूल खेल्ने बेला पानी र हावा पर्नुका साथै धान पाक्ने बेलामा लगातार पानी परेको हुँदा अहिले धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

खेतहरु बाँझो बन्दै जानु, उन्नत बीउको प्रयोग कम हुनु, रासायनिक मलको उपलब्धता नहुँनु, बसाइँसराइ, काम गर्ने श्रमिकहरुको कमी हुनु जस्ता कारणले धानको उत्पादनमा कमी आएको हो । वर्षे धान रोप्ने समयमा खडेरी परेको हुँदा पानीका मुहानहरु सुख्खासँगै टारी खेतहरु समेत सुख्खा भएका थिए । पानी ढिला परेको र बीउ नर्सरीमै सुकेको थियो । यस जिल्लामा गत वर्ष २४ हजार ४२६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस पटक उत्पादन घटेर २२ हजार ३२३ मेट्रिकटन उत्पादन हुने भएको बताइएको छ । गत वर्ष यहाँ धान उत्पादनमा वृद्धि भए पनि अहिले धानको क्षेत्रफलसँगै उत्पादन पनि घटेको सूचना अधिकारी टिकाराम न्यौपानेले बताउनुभयो ।

मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । गत वर्ष गुल्मीमा पाँच करोड रुपियाँ बराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ चैते धान ३१५ हेक्टरमा खेती गरिन्छ । वर्षे धान छ हजार २७० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । हँसराज, आँपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान खेती गरिन्छ । कम उत्पादन दिने भएपनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले यी जातका धान लगाउँदै आएका छन् । उन्नत जातका साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान उत्पादन गरिन्छ । वर्णसंकर जातका यूएस ३१२ र चेम्पाङ्ग धान पनि उत्पादन गरिन्छ । उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ ।

जिल्लाको कालीगण्डकीमा अर्वेनी, कनौटा, छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, जोहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोटमा मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरुमा धानखेती गरिन्छ । मुसिकोटमा तल्ला फाँट, इन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्मचौरलगायत बडिघाट खोलाको आसपासका क्षेत्रमा धानखेती गरिन्छ । मालिकामा सिमलटारी, फूलबारी, सिलादी, मदानेमा सिर्सेनीस्थित सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्रमा धान खेती गरिन्छ। धुर्कोटमा पनाहाखोला र छल्दी खोलाका फाँटहरु, ईस्मामा चौरासीफाँट, हुलाके, हस्तिचौरलगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान खेती गरिन्छ । गुल्मीदरबारमा गरमटारी, खज्र्याङ्ग, घोडाहाफाँट, टारी फाँट, छत्रकोटमा खज्र्याङ्, मनबाग, अँगाहा, उल्लीखोला, बोआ फाँट र रुरुक्षेत्रमा टाहाटिम, घिउबेसी, छम्दी र कालीगण्डकीको आसपासको क्षेत्रमा धानखेती गरिन्छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - ०९:१८:११ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology