Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाको सार्वजनिक सुनुवाई सम्पन्न, खानी सञ्चालनले सडकदेखि बस्तीसम्म जोखिम भएको जनताको गुनासो

इच्छाकामनाको सार्वजनिक सुनुवाई सम्पन्न, खानी सञ्चालनले सडकदेखि बस्तीसम्म जोखिम भएको जनताको गुनासो

images
इच्छाकामनाको सार्वजनिक सुनुवाई सम्पन्न, खानी सञ्चालनले सडकदेखि बस्तीसम्म जोखिम भएको जनताको गुनासो
images

चण्डिभञ्ज्याङ । इच्छाकामना गाउँपालिका वडा नं–२ स्थित धानबारीमा सञ्चालित चुनढुङ्गा खानीको काम रोक्न स्थानीयले माग गरेका छन् । घुर्केशमा भएको इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले खानी सञ्चालनले सडकदेखि बस्तीसम्मको जोखिम बढाएको बताएका हुन् ।

खानीमा प्रयोग हुँदै आएको ठूला सवारीसाधनको प्रयोगले विद्यार्थी सबैभन्दा बढी प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय मायाटारका प्रधानाध्यापक पदमबहादुर चेपाङले बताए । ‘शान्त ठाउँमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीलाई चर्को आवाजका कारण ध्वनि प्रदूषण त बढ्यो नै’, विद्यार्थीलाई विद्यालय आउजाउमा समेत समस्या भएको छ ।’

खानी सञ्चालनले सडकसमेत ठाउँ–ठाउँमा बिग्रिइसकेको स्थानीयले बताएका छन् । सडकको क्षमताभन्दा बढी भार बोकेर सवारीसाधन गुड्दा ग्रामीण सडकले त्यसको भार थेग्न नसकेको मायाटार होमस्टेका सञ्चालक टीकाबहादुर गुरूङले गुनासो गरे । उपरदाङगढीबाट मायाटार हुँदै घुर्केशमा घरवास सञ्चालन गरे पनि सडककै कारण आन्तरिक पर्यटकको आगमन रोकिने जोखिम बढेको उनले बताए ।

‘ठूला गाडी घुम्न पनि नसक्ने घुम्ती भएको सडकमा क्षमताभन्दा बढी भारी बोकेर टिप्पर गुडेपछि ठाउँ–ठाउँमा सडक भत्किएको छ’, उनले भने, ‘यसरी जोखिमपूर्ण यात्रा गर्दा सडकले भार नथेग्नेमात्रै होइन, बारी बोकेकै सवारीलाई पनि दुर्घटनाको जोखिम छ ।’ बाटोकै कारण फस्टाउने यात्रामा अघि बढेको इच्छाकामनाको आन्तरिक पर्यटन व्यवसाय फेरि धरापमा पर्ने हो कि भन्ने चिन्ता थपिएको उनको भनाइ छ ।

उनले रिग्दी खोलाको असला माछा संरक्षणमा पनि गाउँपालिकाले थप चासो दिनुपर्ने सुझाव दिए । ‘कुनै समय असला माछाको बासस्थान भनेर चिनिने रिग्दी खोलामा अहिले असला देख्नै मुस्किल छ’, उनी भन्छन्, ‘हामीले स्थानीयस्तरमै संरक्षणको अभियान चलाएका थियौँ । तर, त्यसले मात्रै संरक्षण पर्याप्त भएन । खोलामा विष हाल्ने र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिएको हुँदा त्यसतर्फ गाउँपालिकाले बेला–बेला जनचेतनामूलक कार्यक्रम गरेर गाउँ–गाउँमा सचेतना बढाउनुपर्ने देखिएको छ ।’

स्थानीयले इच्छाकामना गाउँपालिकाको वडा नं–२ स्थित घुर्केश र वडा नं–६ को चण्डिभञ्ज्याङ (डाँडागाउँ) जोड्ने सडक निर्माणको काममा समेत जनप्रतिनिधिहरुको ध्यान नपुगेको बताएका छन् । निर्माण कम्पनीले राम्रोसँग काम नगरेको भन्दै गाउँपालिकाबाट संयन्त्र खडा गरेर समय–समयमा अनुगमन गरिदिन आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले स्थानीय सरकार र सम्बन्धित क्षेत्रका स्थानीयबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । गाउँ विकासका लागि दुई पक्षबीच सम्बन्ध जरूरी रहेको उनले बताए । जिल्ला समन्वय समितिबाट आवश्यक सहजीकरण गर्न तयार रहेकोसमेत उनले बताए ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले स्थानीयको गुनासोलाई स्थानीय सरकारले सुझावको रुपमा ग्रहण गरेको बताए । सोही सुझावको आधारमा आगामी दिनमा काम गर्न सहज हुने उनले बताए । जनताको गुनासो र आवश्यकता बुझ्नकै लागि इच्छाकामना गाउँपालिकाले हरेकपटकको सार्वजनिक सुनुवाइ फरक–फरक क्षेत्रमा गर्दै आएको उनको दाबी छ ।

इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य दिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले चार महिनाको कार्यप्रगति प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १०:२४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology