Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान

कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान

पत्रपत्रिका

१२, पौष २०८२
कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान

चन्द्र पन्दाक, ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

images

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविरहरु खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । यस्तै कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेर लगयातका क्षेत्र पनि सुनसान बनेको छ । पर्यटकीय मौसम अर्थात हिमालको भ्रमण गर्ने याम (समय) सकिएसँगै आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटकहरु आउजाउ गर्न छोडेपछि आधार शिविर क्षेत्र सुनसान बनेको हो । स्थानीय पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीय याम सकिएपछि पर्यटकहरु आउजाउ गर्न छाडेका र होटल व्यवसाय गर्दै आएका व्यवसायीहरु तल्लो बस्तीतिर फर्किएपछि आधार शिविर क्षेत्र सुनसान बनेको बताउनुभयो ।

पर्यटन व्यवसायी शेर्पाका अनुसार आधार शिविर क्षेत्रमा बाक्लो हिउँ पर्नुका साथै अत्यधिक चिसो बढेपछि पछिल्लो करिव डेढ साता अघिदेखि नै आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेको होटलहरु बन्द भएका छन् । हिमपात र अध्यधिक चिसोका कारण कञ्चनजङ्घाको भ्रमण गर्न नसकिने हुँदा पर्यटकहरु भ्रमणमा जान छोडेपछि होटलहरु पनि बन्द हुने गरेको उहाँको भनाइ छ ।

फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका व्यवसायी शेर्पाका अनुसार पर्यटकीय मौसम सुरु भएपछि आधार शिविर क्षेत्रमा होटलहरु सञ्चालनमा आउने छ । प्रत्येक आर्थिक वर्षको पहिलो पर्यटकीय मौसम असोजदेखि मङ्सिर महिनासम्म र दोस्रो याम चैत महिनादेखि असार पहिलो सातासम्म आधार शिविर क्षेत्रमा होटलहरु खुल्ने गरेको बताइएको छ ।

यता पछिल्लो समय कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकहरु पनि बढ्दै गएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षहरुमा कञ्चनजङ्घा भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसवर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।

पर्यटन सहायक शेर्पाका अनुसार यसवर्ष मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटकहरु कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आएका छन् । कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्नेमा विदेशी पर्यटक मात्र नभई पछिल्लो आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार गतवर्ष पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको मुख्य समय आर्थिक वर्ष २०७७/७८ मा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको आगमन शून्य रहेको थियो । कोभिड–१९ महामारी सामान्य भएपछि अर्थात आव २०७८/७९ देखि भने बर्सेनि कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढिरहेका छन् । पर्यटकका लागि आउजाउ गर्न विस्तारै सडकको पहुँच विस्तार हुँदै गएको र पदमार्गसमेत सहज बन्दै गएकाले कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकहरु बढ्न थालेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) बताउनुहुन्छ । गोर्खापत्र अनलाइनबाट

images
प्रकाशित मिति :पौष १२, २०८२ शनिवार - ०९:३२:५६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology