Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नवनिर्वाचित सांसद्को शपथग्रहण आज, ५४ जनाले मातृभाषामा शपथ लिने

नवनिर्वाचित सांसद्को शपथग्रहण आज, ५४ जनाले मातृभाषामा शपथ लिने

इच्छाकामना न्युज

१२, चैत्र २०८२
नवनिर्वाचित सांसद्को शपथग्रहण आज, ५४ जनाले मातृभाषामा शपथ लिने

काठमाण्डौ । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउँदै छन् । शपथ ग्रहण बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ ।

images

केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको बताए । उनले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ ।

सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ ।

साथै शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ ।

५४ जनाले मातृभाषामा शपथ लिने

नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने छन् । बुधबार साँझ ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका छन् । यो सङ्ख्या अझै बढ्न प्र्रवक्ता गिरीले बताए ।

नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - ०७:५२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology