काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’
कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ । अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् ।
कांग्रेसको विधानमा के छ ?
तर, प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवम् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो ।
प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् । कांग्रेस संसदीय दलको विधानको दफा ५ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ ।
उक्त दफाको उपदफा (१) र (२) अनुसार कांग्रेसमा दलको नेता चयन हुने गरेको छ ।
उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ ।